ट्रकमा सवार बन्दुकधारीद्वारा ११ जनाको हत्या



मेक्सिको सिटी, (एजेन्सी) ।

एउटा ट्रकमा सवार अज्ञात बन्दुकधारीहरूको एक समूहले मेक्सिकोको पश्चिमी राज्य जालिस्कोमा शनिबार जथाभावी अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा एघार जना मानिसको ज्यान जानुका साथै एक महिला र अर्को एकजना युवक सिकिस्त घाइते भएको प्रहरीले जनाएको छ । गत डिसेम्बरमा एकजना पूर्व गभर्नरको गोली हानेर हत्या गरिएको जालिस्को मेक्सिकोको सबैभन्दा कुख्यात लागुऔषध कारोबार हुने प्रमुख स्थान मानिन्छ ।

त्यहँँ शक्तिशाली तथा कुख्यात लागुऔषध तस्कर समूह जालिस्को न्यु जेनेरेसन कार्टेल (सिजेएनजी) सक्रिय रहेको छ । स्थानीय सुरक्षा निकायले गुआदालाजारा क्षेत्रको टोनालास्थित एउटा घरबाहिर १० जना पुरुषको गोली लागेको शव भेटिएको तथा घरभित्र अर्को एक पुरुषको लास भेटिएको जनाएको छ । सन् २०१८ को उत्तरार्धमा कार्यकाल सम्हालेका राष्ट्रपति एन्द«ेस म्यानुयल लोपेज ओब्राडारले मुलुकमा हिंसा नियन्त्रण गर्ने प्रतिबद्धता जनाए पनि वर्षेनी दशौं हजार व्यक्तिको सामूहिक हुने क्रम रोकिएको छैन ।

गत डिसेम्बरमा समुद्र तटीय शहर प्युअर्टो भ्याल्लार्टास्थित एउटा रेस्टुरेन्टमा जालिस्कोका पूर्व गभर्नर एरिस्टोटेलेस सान्दोभालको गोली हानेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्