५ पत्रकारलाई ललितकला पुरस्कार



कलापत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले स्थापना गरेको नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट दीपक श्रेष्ठ (विहीन) र २०७७ बाट सिर्जु बज्राचार्यलाई पुरस्कृत गरिएको छ।

यसै गरी, सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६ बाट हेमन्त गौतम, २०७७ सालको सो पुरस्कार दीपक परियारलाई पुरस्कृत गरिएको छ। क्रोधकला शिरोमणि कालु कुमालेले पत्नी स्व. लक्ष्मीमाया कुमालेको स्मृतिमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना गरेका हुन्। यसै गरी, सोफाज ललितकला पत्रकारिता पुरस्कारबाट राधा पौडेल (अजवी) पुरस्कृत भएकी छिन्। सबै पुरस्कारको राशि जनही ११ हजार १११ रुपियाँ रहेको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, क्रोधकला शिरोमणी कालु कुमाले र सोफाजका अध्यक्ष केशवराज खनालले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका हुन्। कार्यक्रममा कुलपति केके कर्माचार्यले पुरस्कृतहरुलाई बधाई दिँदै ललितकलाको विकास र विस्तारमा मिडियाको भूमिका महत्वपूर्ण हुने चर्चा गरे। उनले सिर्जनाका अन्य विधामा भन्दा ललितकलामा पुरस्कार अत्यन्त थोरै रहेको चर्चा गर्दै ललितकलाका क्षेत्रमा सक्रिय कलाकार तथा सञ्चारकर्मीलाई प्रोत्साहित गर्नसमेत पुरस्कार तथा लेखनवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ रमेश खनालले पुरस्कृतहरुलाई शुभकामना दिए।

प्रतिक्रिया दिनुहोस्