गोर्खे फागुन अन्तिममा


कोजु इन्टरटेन्मेन्टको ब्यानरमा हरि लामाको प्रस्तुति तथा तीर्थराम कोजु र हरि थापाको निर्माणमा तयार भएको फिल्म गोर्खे आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिजमा आउने भएको छ।

जेनतेन सिनेमा हल सञ्चालनमा आए पनि फागुन महिनाबाट दर्शक पनि हलसम्म पुग्ने माहोल राम्रो हुने भएकाले गोर्खे फागुन २१ गतेबाट रिलिजमा आउन लागेको वितरक करण श्रेष्ठ क्रेजीले जानकारी गराए। फिल्मको रिलिज डेट पक्का गरिएसँगै पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ।

केही दिनअघि चलचित्रमा समावेश मुख्य दृश्यसहित टाइटल लिरिकल गीत सार्वजनिक गरिएसँगै चर्चामा आएको फिल्मका गीत पनि चर्चामा छन्। पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंलगायत नेपालका रमणीय स्थानमा छायांकन गरिएको फिल्म निर्देशक किम्मत गौतमले निर्देशन गरेका छन्। गोर्खे बन्ने सपना बोकेका ५ युवा पात्रलाई फिल्ममा प्रस्तुत गरिएको निर्माता हरि थापाले बताए।

फिल्ममा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ। काजी लिम्बुको कथा, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत, सौरभ लामा र निरज कँडेलको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको फिल्म ४५ दिनमा छायांकन सकाइएको हो।

Skip This