बाइडेनको औपचारिक जितको घोषणा, ट्रम्पको कार्यको आलोचना



वासिङ्टन, (एजेन्सी)  ।

अमेरिकी इलेक्टोरल कलेजले गत ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय चुनावमा आफूलाई विजयी भएको आधिकारिक घोषणा गरेपछि जोय बाइडेनले ‘अब पृष्ठ पल्टाउने समय आएको’ प्रतिक्रिया दिएका छन् । अमेरिकामा आयोजित एक विशेष कार्यक्रममा सो औपचारिक घोषणापछि भाषण दिने क्रममा बाइडेनले भनेका छन् , ‘अमेरिकाको प्रजातन्त्रलाई घचेट्ने, जाँच्ने र खतरामा पार्ने काम भएका थिए । तैपनि, यो अझैसम्म स्थिर, सत्य र शक्तिशाली प्रमाणित भएर बसेको छ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी परिणामलाई कानुनी सहारा लिएर उल्टाउने प्रयासको आलोचना गर्दै बाइडेनले आखिर जनमत सदर भएको बताएका छन् । चुनावी जितको यो सुनिश्चितता बाइडेनलाई कार्य भार सम्हाल्नका लागि आवश्यक प्रक्रियाहरूमध्ये एक हो । अमेरिकी निर्वाचन प्रणालीअनुसार वास्तवमा मतदाताहरूले इलेक्टोरलहरूका लागि मतदान गर्छन् । तिनीहरूले चुनावको हप्तौंपछि उम्मेदवारहरूलाई औपचारिक मतदान गर्छन् । डेमोक्रेट जोय बाइडेनले ३ सय ६ र रिपब्लिकन डोनाल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरोल कलेज मत प्राप्त गरेका थिए । चुनाव पराजयको सहमतिको थोरै मात्र संकेत दिएका ट्रम्पले बाइडेनको यस पछिल्लो भनाइलाई लिएर कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यसैगरी, बाइडेनले ट्रम्पका निकटतम सहयोगीहरूमध्ये एक मानिँदै आएका अमेरिकी महान्यायाधिवक्ता विलियम बार्रले आउँदो क्रिसमसअघि नै पदबाट राजीनामा दिन लागेको ट्विटरमार्फत जानकारी दिएका छन् । बार्रको पदावधि पनि ट्रम्पले सत्ता छोड्ने दिन अर्थात् आगामी २० जनवरी समाप्त हुँदै छ ।

बार्रले नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको बताएपछि उनी र ट्रम्पबीच मतभेद शुरू भएको थियो । साथै, ट्रम्पले चुनाव प्रचार–प्रसारकै बेला जोय बाइडेनको छोरामाथि न्याय विभागले अनुसन्धान गरिरहेको कुरा सार्वजनिकरूपमा खुलासा नगरेको भन्दै बार्रप्रति आक्रोश व्यक्त गरेका थिए् ।

तैपनि, ट्रम्पले बार्रको राजीनामा पत्रलाई लिएर ट्विटरमा लेखेका छन्– ‘हामी दुईबीचको सम्बन्ध निकट रहँदै आएको छ । उनले आफ्नो काम एकदमै राम्ररी सम्पन्न गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्