एस्वाटिनीका प्रधानमन्त्रीको कोरोनाबाट मृत्यु भएको पुष्टि



जोहानेसबर्ग, (एजेन्सी) ।

कोरोना संक्रमणको चपेटामा आएका दक्षिण अफ्रिकी देश एस्वाटिनीका प्रधानमन्त्रीको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । अफ्रिकाको एक मात्र अधिराज्य स्वाजिल्यान्डका राजाले देशको नाम परिवर्तन गरि ‘एस्वाटिनी’ राखेको हो ।

एस्वाटिनीका प्रधानमन्त्री एम्बरोसे डलामिनी एक महिना पहिला कोरोना पोजेटिभ भएका थिए । ५२ वर्षीय प्रधानमन्त्री डलामिनीको दक्षिण अफ्रिकाको एक अस्पतालनमा उपचार भइरहेको थियो ।

दक्षिण अफ्रिकी देश एस्वाटिनीको शासन पद्धति राजतन्त्र हो । त्यहाँको सरकारले आइतबार राति मात्रै प्रधानमन्त्रीको निधन भएको घोषणा गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

एस्वाटिनीका उप–प्रधानमन्त्री थेम्बा मसुकुले एक विज्ञप्ति जारी गर्दै आफूलाई राजपरिवारबाट देशका प्रधानमन्त्री एम्बरोसे डलामिनीको दुःखद तथा असामयिक निधनको सूचना दिन आदेश प्राप्त भएको उल्लेख गरेका छन् । उनको निधन आइतबार अपराह्नपछि दक्षिण अफ्रिकाको अस्पतालमा उपचारका क्रममा भएको उप–प्रधानमन्त्रीले जानकारी दिएको छ ।

प्रधानमन्त्री एम्बरोसे डलामिनीलाई डिसेम्बर १ मा दक्षिण अफ्रिकामा भर्ना गरिएको थियो । कोरोनाको उपचारमा राम्रो उपचार सुविधा प्राप्त हुने भएकोले उनलाई दक्षिण अफ्रिका पठाइएको थियो । त्यतिबेलासम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर थियो र उपचारपछि पनि राम्रो प्रतिक्रिया दिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एस्वाटिनी अफ्रिकी महादेशमा चारैतिरबाट दक्षिण अफ्रिकाको जमिनले घेरेको सानो देश हो । उक्त देशको आवादीको संख्या १२ लाख रहेको छ । यहाँ अहिलेसम्म ६ हजार ७ सय ६८ जना कोरोना पोजेटिभ भइसकेका छन् । त्यहाँकोरोनाबाट अहिलेसम्म १ सय २७ जनाको मृत्यु भइसकेको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एम्बरोसे डलामिनीलाई सन् २०१८ मा एस्वाटिनीको प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । यसअघि, उनी एक कम्पनीमा सीईओको पदमा काम गरिरहेका थिए । डलामिनीले बैंकिङ सेक्टरमा पनि १८ वर्ष काम गरिसकेको र नेड बैंकको प्रबन्धक निर्देशकका रूपमा समेत काम गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्