फाइजर खोप सबैभन्दा पहिला वरिष्ठ अमेरिकी अधिकारीलाई



वासिङटन, (एजेन्सी) ।

अमेरिकाको ट्रम्प सरकारका वरिष्ठ अधिकारीहरूलाई सबैभन्दा पहिले कोरोना भाइरसविरुद्धको खोप लगाइने अमेरिकी सरकारी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भवन ह्वाइट हाउसका केही अधिकारीलाई यसै साता फाइजर बायोएनटेक खोप दिइने अपेक्षा गरिएको छ ।

तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आइतबार विशेष परिस्थितिमा मात्र खोप लगाइने बताएका थिए । अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन ( एफडिए ) ले सुरक्षित मानिएको यस खोपले मानिसलाई कोभिड–१९ बाट ९५ प्रतिशत जोगाउने जनाएको हो ।

प्रारम्भिक ३० लाख डोज खोप अहिले अमेरिकाको ५० वटै राज्यका विभिन्न स्थानमा वितरण भइरहेको छ । मिचिगनमा आइतबार पुगेको खोपको पहिलो सिपमेन्टबाट वृद्ध उमेर समूह र स्वास्थ्यकर्मीहरूलाई चा“डोमा सोमबार बिहान खोप दिइन थालिने बताइएको छ । नोभेम्बरदेखि अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या तीव्ररूपमा बढिरहेको छ ।

शनिबार मात्र ३ हजार ३ सय ९ जनाको मृत्यु भएपछि एकैदिनमा यति धेरै संख्यामा मरेको कीर्तिमान रहन गएको छ । खोप वितरणका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो राहत पुग्ने अनुमान गरिएको छ । अमेरिकामा अहिलेसम्म झन्डै तीन लाख मानिसको कोरोनाकै कारण मृत्यु भइसकेको छ । फाइजर खोप यसअघि नै बेलायतका जनतालाई दिइन थालिसकेको छ । फाइजर खोपले क्यानाडा, बहराइन र साउदी अरेबियामा पनि प्रयोग अनुमोदन प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्