भारतमा तीन कम्पनीको खोपलाई अनुमति दिने संकेत



नयाँदिल्ली (एजेन्सी)
भारतले आगामी केही हप्तामा कोरोना भाइरस विरुद्धका केही खोपलाई अनुमति दिने संकेत दिएको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले उक्त जानकारी दिएको हो ।
सिरम, भारत बायोटेक र अमेरिकी कम्पनी फाइजरले आपतकालिन अनुमतिका लागि आवेदन दिइसकेको छ । सरकारले यी तीनै वटा वा ती मध्य कुनै एकलाई छिट्टै अनुमति दिन सकिने जनाएको छ ।
सुरुको चरणमा एक करोड फ्रन्ट लाइन वर्कर्सलाई खोप दिइने सरकारले जनाएको छ । अहिले उपलब्ध कोल्ड चेनको ३ करोड खोप भन्डार गर्ने क्षमता छ । यो बाहेक कोविन सफ्टवेयरमा फ्रन्टलाईन हेल्थ वर्कर्सका डाटा पनि अपलोड गर्न सकिने छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्र खोप उत्पादन गर्ने कारखाना र वैज्ञानिकहरुसँग छलफल गरेको सरकारले जानकारी दिएको थियो । भारतमा अहिले ६ कोरोना खोपको क्लिनिकल परीक्षणको चरणमा छ ।
भारतमा कुल संक्रमित मध्य ५४ प्रतिशत मात्र ५ राज्यको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ती राज्यमा महाराष्ट्र, केरल, कर्नाटक, पश्चिम बंगाल र दिल्ली हुन् । वैज्ञानिकहरुले हरियो झन्डा देखाए लगत्तै ठुलो परिमाणमा खोप उत्पादन कार्य थालिने मन्त्रालयले जनाएको छ ।
सचिव भुषणले भने, हामीले सबै तयारी गरिराखेका छौं । खोपको उत्पादन र यसलाई हरेक ब्यक्तीसम्म चाँडो भन्दा चाँडो पुर्याउने खाका पनि तयार गरिसक्यौं ।
हाल भारतमा एक्टिभ केस ४ लाख भन्दा कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल संक्रमित संख्याको मात्र साढे ६ प्रतिशत हो । कोरोना पोजिटिव दरमा पनि लगातार कमी आइरहेको छ । सचिव राजेशले भने, पुरै विश्वमा कोरोनाको मामिला बढिरहेको छ तर भारतमा सेप्टेम्बरको मध्यदेखि नै लगातार कोरोना संक्रमण कम भएको रिकर्ड भइरहेको छ ।
भारतमा कोरोना संक्रमित अहिलेसम्म ९७ लाख नाघिसकेको छ । यसमा ९१ लाख ७८ हजार विरामी ठिक भइसकेको छ र १ लाख ४० हजारको मृत्यु भइसकेको छ । ३ लाख ८२ हजार विरामीको उपचार भइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्