२५ उद्योगी व्यवसायीलाई सीईआईपी सम्मान



नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति वर्ष २०२० (सीआईपी) सम्मान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले छनोट गरिएका ठूला निर्यातकर्ता, धेरै रकम लगानीकर्ता तथा धेरै रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहकाबीच उक्त सम्मान प्रदान गर्नुभएको थियो। भारत तथा चीन एवम् तेस्रो मुलुकमा निकासी गर्ने, धेरै लगानी गर्ने, धेरै कृषि वस्तु तथा जडिबुटी निर्यात गर्ने, धेरै रोजगारी प्रदान गर्ने लगायतका कुल १३ विधामा २५ उद्योगी व्यवसायीलाई सरकारले सम्मान गरेको हो।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धधनात्मक कार्य गरी आर्थिक विकासमा उलेख्य योगदान पुर्याएको भन्दै सरकारले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरलाई पनि सम्मान गरेको छ।

तेस्रो मुलकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुको सबैभन्दा बढी वस्तु निकासी गर्ने विधाअन्तर्गत धागोमा त्रिवेणी स्पिनिङ मिल्स प्रालि छाता पिपरा, बाराका अध्यक्ष रामचन्द्र संघाई, ऊनी गलैंचातर्फ व्यवसायी दोर्जे ग्याल्सेन लामा, तयारी पोशाकअन्तर्गत व्यवसायी राहुलमान शाक्य, ऊनी पश्मिना सलअन्तर्गत व्यवसायी सूर्यकुमार गुरुङ, ऊनी फेल्टका उद्योगी रविन श्रेष्ठ सम्मानित हुनुभएको छ।

यसैगरी भारत निकासीतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता र उद्योगीमा हरिकिरत सिंह बेदी, दिव्यराज सापकोटा र युक्ति गोल्छा रहनुभएको छ।चीन निकासीतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता उद्योगीहरूमा पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे रहनुभएको छ।

हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताहरूमा गोपीप्रसाद कँडेल सम्मानित हुनुभएको छ। यसैगरी सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीमा पवनकुमार गोल्याण सम्मानित हुनुभएको छ। साथै बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी र व्यवसायीमा चन्द्रप्रसाद ढकाल सम्मानित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्