आर्थिक विकासमा युवाशक्तिलाई सहभागी गराउन जोड



काठमाडौं, (नेस)।

नेपालले युवाको प्रभावकारी परिचालनमार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा जोड दिइएको छ। यसका लागि सरकारको विशेष नीति हुनुपर्ने र स्वदेशमै काम गर्ने वातावरण बनाई दिनुपर्ने सुझाव युवाको छ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा पोखरामा आयोजना गरिएको मुलुक निर्माणमा युवालाई प्रोत्साहन विषयक एक दिने प्रेरणामुलक कार्यक्रमका सहभागीले सो धारणा राखेका हुन्।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्यालाई युवाको परिभाषाभित्र समेटिएको छ भने कुल जनसंख्यामा यो उमेर समूहको हिस्सा ४० प्रतिशतभन्दा बढी रहेको र यो उमेर समूह भनेको ऊर्जाशील, काम गर्ने अत्यधिक जांगर भएको वर्ग भएकाले बिना कुनै विलम्व युवा परिचालनमा सरकारको विशेष ध्यान जानुपर्ने सुझाव सो अवसरमा दिइएको छ।

सरकारले युथ भिजन २०२० पारित गरिसकेको र भिजन २०२० मा उल्लेख गरिएअनुसार युवा प्रतिस्पर्धी, स्वाबलम्वीसमेत हुँंदा हरेक क्षेत्रमा उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वदायी भूमिका दिनेतर्फ सरकारको विशेष जोड हुनुपर्ने धारणा व्यक्त गरियो।

प्रतिक्रिया दिनुहोस्