ट्रक प्राप्त, मृतकको पहिचान कार्य शुरू



लन्डन, (एजेन्सी)।

बेलायतको एसेक्समा एक गाडीमा फेला परेका ३९ शवको पहिचान गर्ने कार्य शुरू भएको अधिकारीहरूले जानकारी दिएका छन्।शुरूमा उक्त ट्रक बुल्गेरियाबाट आएको हुन सक्ने प्रहरीले बताएको थियो तर पछि बेल्जियमबाट बेलायत छिरेको बताइएको छ। ट्रक टेम्स नदीनजिकै परफ्लिटमा पुगेको थियो।

ग्रेजको वाटरग्लेड इन्डस्ट्रियल पार्क नजिकै एम्बुलेन्स कर्मचारीले गाडीमा शव बरामद गरेका थिए। मृत्यु भएकामा ३८ जना वयश्क र एक जनाको उमेर २० भन्दा कम भएको बताइएको छ।यस घटनामा गाडीका चालक २५ वर्षीय मो रोबिनसनलाई गिरफ्तार गरिएको छ। रोबिनसन उत्तरी आयरल्यान्डको आर्मगा काउन्टीको पोर्टाडाउनका हुन्। प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ।

प्रहरीले गाडीलाई एक सुरक्षित स्थानमा लगेको एसेक्स प्रहरीका वरिष्ठ अधिकारी पिप्पा मिल्सले जानकारी दिए। गाडीमा भएका सबै शव पूरै सम्मानका साथ गाडीबाट निकालिने उनले बताए।
मृतकको पहिचान गर्नु उनीहरूको सबैभन्दा ठूलो प्राथमिकतामा रहेको र यो लामो प्रक्रिया हुने अपेक्षा गरिएको उनले बताए।

यसैबीच उत्तरी आयरल्यान्डका प्रहरी अधिकारीले प्रक्राउ गरिएका व्यक्तिसँग जोडिएका दुई ठेगाना आर्मगा काउन्टीको मार्केटहिल र नजिकको लरेलवेलमा छापा मारेको छ।कन्टेनर बोक्ने यो गाडीको पहिलो हिस्सा उत्तरी आयरल्यान्डबाट आएको थियो र परफ्लिटबाट कन्टेनर गाडीमा लोड गरिएको प्रहरीले जानकारी दिए। त्यसपछि उक्त गाडी कन्टेनर बोकी अगाडि बढेको र त्यसको आधा घन्टापछि एन्बुलेन्सका कर्मचारीले गाडीको कन्टेनरबाट ३९ शव बरामद गरेका थिए।

प्रहरीले उक्त गाडीसँग जोडिएका जानकारी भएमा प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको छ। मृतकको पहिचानमा सहयोग गर्न नेसनल क्राइम एजेन्सीले आफ्ना अधिकारी पठाइसकेको जानकारी दिँदै यस घटनासँग सम्बन्धित अपराध समूहको पहिचान र उनीहरूको भूमिका पत्ता लगाउन मद्दत गर्ने बताए।

बुल्गेरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले उक्त गाडी बुल्गेरियामा आयरल्यान्ड मूलका एक व्यक्तिको कम्पनीको नाममा पन्जिकृत रहेको जानकारी दिए। मृतकमा बुल्गेरियाका कोही पनि नभएको हुन सक्ने उनले बताए।

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले घटनाप्रति दुःख व्यक्त गर्दै त्रासदीपूर्ण भएको बताए। यो घटना मानव तश्करीसँग सम्बन्धित हुन सक्नेतर्फ संकेट गरेको छ।हालैका समयमा मानव तस्करीका लागि अत्यन्त खतरनाक तरिका अपनाइरहेका छन्।

यसमा गाडीको पछाडि लुकाएर सीमा पार गराउनु पनि एक हो। यस काममा विशेष गरी सिपिंग कन्टेनर र कहिलेकाहीँ वातानुकुलित कन्टेनरको प्रयोग गरिन्छ। एसेक्समा शव प्राप्त भएकोे कन्टेनर पनि वातानुकूलित कन्टेनर हो।यस्ता कन्टेनरमा अर्को देशमा जान १० हजार पाउन्टसम्म दिन तयार हुनेहरूका लागि खतरा हुने बताइएको छ।

सन् २०१० मा डोवरमा एक ट्रकमा ५८ चिनियाँ प्रवासीको शव प्राप्त भएको थियो। उनीहरूको मृत्यु निस्सासिए भएको थियो। त्यसै गरी सन् २०१५ मा अस्ट्रियाको एक सडकमा रोखिराखेको गाडीमा ७१ वटा शव प्राप्त भएको थियो। उक्त घटना बुल्गेरिया र हंगेरीबीच भइरहेको मानव तश्करीको हिस्सा भएको प्रहरीले आशंका गरेको थियो।

प्रतिक्रिया दिनुहोस्