थाई नरेशले शाही उपाधि खोसे



बैंकक, (एजेन्सी)।

थाई नरेश भाजिरालोन्गकोर्नले मंगलबार आफ्नी शाही पार्टनरलाई राजसंस्थाप्रति बफादार नरहेको र अभद्र व्यवहार पेस गरेको अरोप लगाउँदै उनको दर्जा र उपाधि खोसेका छन्।

जारी गरिएको एउटा औपचारिक विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘सिनिनात वोन्गभाजिरापाक्दी अति महत्वाकांक्षी देखिएकी छिन्।

उनले आफूलाई थाई महारानीकै दर्जामा राख्ने कोसिस गरेकी छिन्। उनको व्यवहार सम्मानरहित देखिएको छ।’चौंथो पत्नी महारानी सुथिदासँग विवाह गरेको केवल दुई महिनापछि नरेशले उनलाई शाही पत्नीको दर्जा दिएका थिए।

थाइल्यान्डको इतिहासमै झन्डै एक शताब्दीपछि पहिलोपटक सैनिक मेजर जनरल, तालिम प्राप्त पायलट, नर्स तथा अंगरक्षक सिनिनातलाई शाही पत्नीको उपाधि प्रदान गरिएको थियो।

नरेश भाजिरालोन्गकोर्नलाई धेरै वर्षदेखि उनको आफ्नै अंगरक्षक टोलीका प्रमुख तथा पूर्वफ्लाइट एटेन्डेन्स ४१ वर्षीया महारानी सुथिदासँगै विभिन्न सार्वजनिक स्थानमा देखिने गरेका थिए।

सिनीनातको शाही उपाधि खोसिएको कुरा सोमबार रोयल गाजेटमा प्रकाशित गरिएको थियो। उनलाई पनि लामो समयदेखि नरेशसँगै देखिने गरेको थियो।

नरेशले महारानी सुथिदासँग विवाह गरिसकेकपछि पनि सिनिनातलाई नियमितरूपमा शाही कार्यक्रमहरूमा पाहुनाका रूपमा बोलाइने गरिएको थियो।

उनलाई नरेशको तर्फबाट उनको अधिकार दुरुपयोग गर्दै आदेश दिने गरेको आरोप पनि लागेको छ। उनको आभूषण पदक, शाही अंगरक्षक एवं सैनिक दर्जासमेत खोसिएको छ।

प्रतिक्रिया दिनुहोस्