पेन्टागनको पैसाले सीमा क्षेत्रमा पर्खाल लगाइने



वासिंगटन, (एजेन्सी)।अमेरिकी रक्षामन्त्री मार्क एस्परले रक्षा मन्त्रालय पेन्टागनको ३ अर्ब ६० करोड अमेरिकी डलर सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि प्रयोग गर्ने निर्देशन दिएका छन्।

मंगलबार विधायकलाई पठाइएको एक पत्रमा एस्परले सो रकम २ सय ८० किमि लामो पर्खाल निर्माणमा खर्च गरिने र यस वापत विश्वभरिका १ सय २७ वटा अमेरिकी सैनिक परियोजना सञ्चालनमा रोकिन सक्ने उल्लेख गरेका छन्।

आफ्नो राष्ट्रपतीय चुनाव प्रचारप्रसारको अभियानको क्रममै राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे पनि विपक्षी समूहबाट त्यसका लागि कडा चुनौती सहनुपरेको थियो। उनको चुनावी मुद्दा आप्रवास समस्याविरुद्ध कडा कदम चाल्नु पनि रहेको थियो।

एस्परले सो पत्रमा स्पष्ट रुपमा ‘पर्खाल’ शब्द प्रयोग नगरी सीमा अवरोध भनी उल्लेख गरेका छन्। यस कदमलाई सन् २०२० को चुनावमा ट्रम्पलाई सघाउने राजनीतिका रुपमा विश्लेषकहरूले हेरेका छन्।

गत जुलाईमा अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पको पक्षमा निर्णय दिँदै उनले फेब्रुअरीमा लागू गरेको राष्ट्रिय संकटकालका आधारमा उनले पर्खाल निर्माणका लागि रक्षा बजेटको २ अर्ब ५० करोड डलर प्रयोग गर्ने अधिकार पाएको जनाएका थिए।

कंग्रेसका थुप्रै समितिलाई पठाइएको पत्रमा विश्वभरिका १ सय २७ वटा सैनिक निर्माण परियोजना रोकिने जनाइएको छ। तर डेमोक्रेटहरूले सरकारी रकम पर्खाल निर्माणमा छुट्टयाएर ट्रम्प सरकारले सरकारी निकायहरूका लागि बजेट बनाउने काममा कंग्रेसको भूमिका समाप्त पार्ने प्रयास गरिरहेको अरोप लगाएका छन्।

डेमोक्रेट सिनेट अल्पमत नेता चक स्कमरले पहिल्यै सेनाका लागि छुट्याइएको बजेट आफ्नो अहंकार लाद्न र आफैंले सो पर्खाल बनाउनै परे पनि मेक्सिकोकोे खर्च गर्ने वाचाविरुद्ध प्रयोग गर्न लागेको आरोप लगाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्