विवाह दर्ता फाराममा ‘कुमारी’ उल्लेख नहुने



ढाका, (एजेन्सी) । बंगलादेशको एक उच्च अदालतले अबदेखि कुनै पनि महिलाले विवाह दर्ता फाराममा आफू कुमारी रहेको उल्लेख गरिरहनु आवश्यक नपर्ने जनाएको छ। सो उच्च अदालतले अब उक्त ‘कुमारी’ भन्ने शब्दको स्थानमा ‘अविवाहित’ राखिने जनाएको छ।

तर सो फाराममा रहेका अन्य दुईवटा विकल्प ‘विधवा’ र ‘पारपाचुके भएको’ भने यथावत नै रहने बताइएको छ। महिला अधिकारवादी समूहले लामो समयदेखि ‘कुमारी’ भन्ने शब्द अपमानजनक भएको भनी गुनासो गर्दै आएको कुरालाई अदालतले आइतबार सदर गरेको हो।

यसैगरी अदालतले अबदेखि दुलाहाले पनि फाराममा आफ्नो वैवाहिक स्थिति स्पष्ट पार्नुपर्ने बताएको छ। मुश्लिम बाहुल्य रहेको बंगलादेशमा महिलाहरूले विवाह समबन्धी कानुन कडा र भेदभावपूर्ण रहेको भन्दै निन्दा गर्दै आएका थिए।

बंगलादेशमा अधिकांश बालिकालाई जबरजस्ती बालविवाह गराइने कुप्रथा रहेको छ। अदालतले विवाह दर्ता फारामबाट बंगाली शब्द ‘कुमारी’ हटाउनुपर्ने जनाएको छ। यस सम्बन्धमा सन् २०१४ मा दायर भएको मुद्दा अघि बढाउने क्रममा वकिलहरूले विवाह दर्ताफाराम निकै अपमानजनक र महिलाहरूको गोपनियता उल्लंघन गर्ने खालको रहेको भन्दै दमदार वकालत गरेका थिए।

अबदेखि कुमारीको स्थानमा अविवाहित महिलाको अर्थ दिने बंगाली शब्द ‘ ओविवाहिता’ प्रयोग गरिने भएको छ। अदालतको पूर्णनिर्णय औपचारिक रुपमा प्रकासित भएपछि केही महिनाभित्रै यो परिवर्तनलाई व्यवहारमा उतारिने अनुमान गरिएको छ।

यस मुद्दासंग आवद्ध वकिल आयनन नाहार सिद्धकाले यो अदालती निर्णय ऐतिहासिक भएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्