मोदीको अंग्रेजी अत्यन्त राम्रो छ:ट्रम्प



नयाँदिल्ली, (एजेन्सी)। फ्रान्समा भइरहेको समूह ७ शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले काश्मिरलगायतका गम्भिर मुद्दामा आ–आफ्ना कुरा राख्ने क्रममा केही ठट्टा पनि गरे।

एक पत्रकारले सोधिएको प्रश्नको जवाफ मोदीबाट आएपछि ट्रम्पले अचानक मोदीको अंग्रेजीको प्रशंसा गरेपछि दुवै नेता र त्यहाँ उपस्थित सबैजसो जोडले हाँसेका थिए।
काश्मिर मामिलामा ट्रम्पको बयान आएपछि सञ्चारकर्मीहरूले प्रधानमन्त्री मोदीलाई उक्त विषयमा आफ्नो राय दिन भनेका थिए।

मोदीले सहज रुपमा हिन्दीमा जवाफ दिँदै भने– ‘यस मामिलामा हामी दुईलाई वार्ता गर्न दिनुपर्छ भन्ने मलाई लाग्छ। हामी दुबैले यसमा वार्ता गर्नेछौं। जब आवश्यक हुन्छ तपार्इंहरूलाई यसको जानकारी पुर्याउने छौं।’

यसैबीच ट्रम्पले भने– ‘वास्तवमा मोदी अत्यन्त राम्रो अंग्रेजी बोल्नुहुन्छ। बस उहाँ अंग्रेजीमा कुरा गर्न चाहनुहुन्न।’ ट्रम्पको यस टिप्पणीले प्रधानमन्त्री मोदी खुलेर हाँस्न थाले र दुवै नेता एक अर्कोको हातमाथि हात राखेका थिए। ट्रम्पको उक्त ठट्टामा त्यहाँ उपस्थितहरू पनि जोडले हाँसेका थिए।

मोदीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने– ‘हामी व्यापारलाई लिएर कुरा गरिरहेका थियौं। हामी सैन्य तथा अन्य महत्वपूर्ण विषयमा कुरा गरिरहेका छौं। गत राति रात्रीभोजमा हामीसँगै थियौं। जहाँ मैले भारतका बारेमा धेरै कुरा सिकेँ।

यसअघि प्रधानमन्त्री मोदीले ट्रम्पसमक्ष काश्मिर मुद्दामा मध्यस्थतालाई लिएर भारत र पाकिस्तानबीच सबै मुद्दा द्विपक्षीय भएको र यसमा कुनै तेस्रो पक्षलाई कष्ट नदिने बताएका थिए।

यद्यपि गत महिना राष्ट्रपति ट्रम्पले वासिङ्टनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खा समक्ष प्रधानमन्त्री मोदीले काश्मिर मामिलामा मध्यस्थताका लागि भनेको बताएका थिए। भारतले त्यहीबेला त्यस्तो कुनै पनि प्रस्तावमा छलफल भएको कुरालाई अस्वीकार गरेको थियो।

राष्ट्रपति ट्रम्पले काश्मिरका विषयमा वार्ता हुँदा प्रधानमन्त्री मोदीले सबै कुरा नियन्त्रणमा रहेको र दुवै देश आफ्ना सबै समस्या आपसी वार्ताबाट समाधान गर्न सक्ने विषयमा आपूmलाई आश्वस्त पारेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्