रोबोट बोकेको रुसी सोयुज आईएसएसमा मिलान गर्न असफल



मस्को, (एजेन्सी) ।मानव रोबोट बोकेको रुसी सोयुज अन्तरिक्षयानलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)सँग मिलान गर्न असफल भएको रुसी समाचार एजेन्सीले जनाएको छ।

आईएसएस चालक दलका सदस्यको सहयोग तथा क्षमता परीक्षणका लागि दुई हप्ताको अभियानमा फेडोर नामक रोबोट बिहीबार आईएसएसका लागि पठाइएको थियो।
स्वचालित मिलान प्रणालीसँग सम्बन्धित समस्याका कारण शुरूमा योजना गरिएको डकिङ अर्थात् मिलान प्रक्रिया असफल भएको इन्टरफ्याक्सले जनाएको छ।

रुसले शुक्रबार एक मानवरहित रकेट अन्तरिक्षमा पठाएको थियो। फेडोर नामक उक्त रोबोट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा अन्तरिक्ष यात्रीलाई मद्दत गर्नका लागि १० दिन प्रशिक्षण लिने बताइएका थियो।

रुसद्वारा अन्तरिक्षमा पठाइएको यो पहिलो रोबोट हो। फेडोरलाई रुसी सोयुज एमएस–१४ अन्तरिक्ष यानमार्फत कजाकिस्तानस्थित बैकानुर प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो। सोयुज शनिबार अन्तरिक्ष केन्द्र पुग्ने र सेप्टेम्बर ७ सम्म त्यहाँ रहने योजना थियो।

यस प्रकारको यात्रामा सोयुज यान आमरूपमा आफूसँग कुनै मानवलाई लिएर जाने गर्छ, तर बिहीबार यससँग कुनै मानव गएको छैन। यानको पाइलट सिटमा कुनै अन्तरिक्ष यात्रीको स्थानमा फेडोरलाई बसाइएको थियो।

रोबोटको एक हातमा रुसको सानो झन्डा थियो। रोबोटले ‘जाआंै, जाऔं ‘ बोलिरेहेको सुनिएको थियो। यो अन्तरिक्ष जानुअगाडि पहिलो अन्तरिक्ष यात्री युरी गागरिनले बोेलेको वाक्य दोहोर्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्