प्रदर्शनकारी भगाउन प्रहरीले पानीको फोहोरा हान्याे



हङकङ । सरकार विरोधी प्रदर्शनकारीलाई भगाउन हङकङ प्रहरीले ‘वाटर क्यानन’प्रयोग गरेको छ।

विगत १२ सातादेखि जारी सरकार विरोधी प्रदर्शनमा प्रहरीले पहिलोपल्ट आइतबार प्रहरीले वाटर क्यानन’ प्रयोग गरेको हो। वाटर क्यानन प्रदर्शनकारीमाथि उच्च गतिमा पानीको फोहोरा हान्न प्रयोग गरिन्छ।

सडकको प्रदर्शन हटाउन र भिडलाई तितरबितर पार्न प्रहरीले हङकङको सुनवाङ जिल्लामा दुई वाटर क्यान प्रयोग गरेको हो।

प्रदर्शनकारीले पेट्रोल बम प्रयोग गरेपछि प्रहरीले अश्रुग्याँस समेत प्रयोग गरेको थियो। सुपुर्दगीसम्बन्धी विधेयकलाई लिएर हङकङमा विगत १२ हप्तादेखि प्रदर्शन चर्किएको छ। प्रहरीले वाटर क्यानन प्रयोग गरेका दृश्य समाजिक संजालमा प्रचार भइरहेका छन्।

मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले प्रदर्शनकारीलाई वाटर क्याननको प्रयोगले गम्भीर घाइते बनाउने र तनावलाई झन् बढाउने भन्दै अघिल्लो महिना त्यसको प्रयोग नगर्न चेतावनी दिएको थियो।

सुपुर्दगीसम्बन्धी एक विधेयकलाई लिएर हङकङमा लामो समयदेखि विरोध प्रदर्शन चर्किएको छ। उक्त विधेयकका आलोचकहरूले कानुनमा गरिने परिवर्तनपछि हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आफूसमक्ष सुपुर्दगी गर्न चीन, ताइवान र मकाउका अधिकारीहरूले आग्रह गर्न सक्ने भन्दै विरोध गरिरहेका छन्।

हङकङका अधिकारीहरूले आन्दोलनकारीको मागअनुसार सुपुर्दगी गर्ने अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङकङको अदालतमा रहेको बताएका छन्।

सरकारले भने कम्तीमा ७ वर्षको जेल सजाय पाएर भागेकालाई मात्रै सुपुर्दगी गर्ने भन्दै सर्वसाधारणलाई आश्वस्त पार्न खोजेको छ।

गत वर्षको फेब्रुअरीमा हङकङका १९ वर्षीय युवामाथि ताइवानमा बिदा मनाउन सँगै गएकी आफ्नी २० वर्षीया गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगपछि कानुन संशोधनको उक्त प्रस्ताव आएको छ।

ती युवा ताइवानबाट भागेर हङकङ फर्किएका थिए। ताइवानका अधिकारीहरूले उनलाई सुपुर्दगी गर्न हङकङका अधिकारीहरूलाई आग्रह गरेका थिए। तर, ताइवानसँगको सुपुर्दगी सम्झौताको अभावका कारण त्यसो गर्न नसकिने जवाफ हङकङका अधिकारीहरूको उठाएका थिए।

कुनै बेला बेलायतको उपनिवेश रहेको हङकङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएयता ‘एक देश दुई प्रणाली’को सिद्धान्तअन्तर्गत अर्धस्वायत्त छ।

प्रतिक्रिया दिनुहोस्