उत्तर कोरियाद्वारा नयाँ शीतयुद्ध शुरू हुने चेतावनी



प्योङयाङ, (एजेन्सी) ।दक्षिण कोरिया र अमेरिकाको कुनै पनि ‘खतरनाक र असामान्य सैन्य कदम’ले कोरियाली प्रायद्वीपमा एक नयाँ शीतयुद्ध शुरू गर्न सक्ने उत्तर कोरियाले चेतावनी दिएको छ।

अमेरिकाले संयुक्तरूपमा गरेको सैन्य अभ्यासपछि दक्षिण कोरियालाई एक अत्याधुनिक घातक हतियार एफ–३५ ए ‘स्टिल्थ फाइटर्स’ दिएको उत्तर कोरियाका प्रवक्ताले बताएको कोरियाली सेन्ट्रल न्युज एजेन्सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

अमेरिकाले हालै गरेको मध्यम दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण र ए–३५ जेट तथा घातक सैन्य उपकरण कोरियाली प्रायद्वीप वरपर तैनाथ गर्ने योजना अत्यन्त खतरनाक कदम भएको बताउँदै त्यसले यस क्षेत्रमा नयाँ शीतयुद्धको थालनी गर्ने उनले बताए।

उनले भने– ‘यो एक अत्यन्त गम्भीर उक्साउने खालको कारबाही हो। जसले कोरियाली प्रायद्वीपमा दुवै पक्षबीच संयुक्त घोषणा र सैन्य सम्झौताको खुलारूपमा खण्डन भएको छ।’

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास र दक्षिण कोरियामा सशस्त्र बलको निर्माणलगायत शत्रुतापूर्ण सैन्य कदम, कोरियाली प्रायद्वीपमा स्थायी र दीर्घकालीन शान्ति स्थापनाका लागि वार्ताका गतिशीलतालाई कम पारेको प्रवक्ताले बताए।

यस प्रकारको कदम बढिरहेमा उत्तर कोरिया पनि आफ्नो शक्ति बढाउन बाध्य हुने उनले बताए। उत्तर कोरियाले अन्तर कोरियाली वार्ता समाप्त भएपछि अमेरिका–दक्षिण कोरियाबीचको सैन्य अभ्यासको निन्दा गरेको थियो। यसबीच अगस्त १६ मा आफ्नो पूर्वी तटमा दुई अज्ञात प्रोजक्टाइल क्षेप्यास्त्र समुद्रमा परीक्षण प्रहार गरेको थियो।

हालै मात्र दक्षिण कोरियामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतले उत्तर कोरियासँग पुनः वार्ताका लागि अमेरिका तयार रहेको जानकारी दिएका थिए।
केही हप्ताअगाडि मात्र ट्रम्पले आफूले उत्तर कोरियाली नेता किम जोङ उनको अत्यन्त राम्रो पत्र प्राप्त गरेको जानकारी दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्