सुडानी पूर्व राष्ट्रपति विरुद्ध भ्रष्टाचारको मुद्दा



खार्तुम,(एजेन्सी)।  सुडानको एक अदालत समक्ष एकजना गुप्तचर अधिकारीले पूर्व राष्ट्रपति ओमार अल बासिरले साउदी अरेबियाबाट लाखौं अमेरिकी डलर लिएको रहस्य खोलेका छन्। सोमबार आफूविरुद्ध लगाइएको भ्रष्टाचार मुद्दाको सुनवाईका क्रममा बासिर अदालतमा उपस्थित भएका थिए।

तर उनका वकिलले भने उनीमाथि लगाइएका अभियोग अधारहीन भएको दाबी गरिरहेका छन्। महिनौं लामो विरोध प्रदर्शनपछि गत अप्रिलमा उनलाई सत्ताच्यूत गरिएको थियो। उनी झन्डै लगातार ३० वर्षसम्म सत्तामा रहेका थिए।

गत जुन महिनामा अनुसनधानकर्ताले उनको निवासमा धान चामल राख्ने बोरामा ठूलो मात्रामा विदेशी रकम फेला परेको दाबी गरेका थिए। आइतबारमात्र प्रजातन्त्र समर्थित कार्यकर्ता र बासिरलाई सत्ताच्युत गरेका सैनिक नेताबीच निकट भविष्यमा चुनाव गराउने विषयमा एउटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सेतो पहिरन र फेटा बाँधेका पूर्व राष्ट्रपति अदालतभित्र पिँजडामा देखिएको थियो।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार उनले आफू विरुद्ध लगाइएका अभियोग प्रति कुनै पनि टिप्पणी गरेको थिएन। प्रत्यक्षदर्शीका अनुसार राजधानी खार्तोमस्थित अदालतमा बासिरलाई ल्याइँदा अदालत कक्ष बाहिर कडा सुरक्षा प्रबन्ध गरिएको थियो।

गत अप्रिलमा सुडानको सैनिक शासक जनरल अब्देल फत्ताह अल बुर्हानले उनको निवासबाट ११ करोड ३० लाख अमेरिकी डलर भन्दा बढी रकम फेला परेको जनाएका थिए। उनलाई गत जुलाइमै अदालतमा उपस्थित गराइनु पर्ने थियो। तर सुरक्षाको कारण देखाउँदै सो तिथि पर सारिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्