स्पाइडरम्यानद्वारा गगनचुम्बी भवन चढेर शान्ति आह्वान



हंगकंग,(एजेन्सी)।  अग्ला अग्ला भवनहरू चढेर ‘स्पाइडर म्यान’ को उपमा पाएका फ्रन्च पुरुषले हाल राजनीतिक अस्थिरता व्याप्त रहेको हंगकंगको एउटा गगनचुम्बी भवन चढेर शान्तिको आह्वान गर्दै ब्यानर टाँगेका छन्। शुक्रबार बिहान सो भवनको माथिल्लो तल्लामा पुगेर एलेन रोवर्टले हात मलिाइरहेको र हंगकंग र चीनको झण्डासहितको ब्यानर फहराएका थिए।

हंगकंगमा अपराध गर्नेलाई थप अदालती कारबाहीका लागि मुख्य भूमि चीनमा अभियुक्तलाई हस्तान्तरण गर्ने अनुमतिका लागि प्रस्तावित विधेयक विरुद्ध शुरू भएको प्रजातन्त्र समर्थित प्रदर्शन थुप्रै सातादेखि जारी रहेको छ। राजनीतिक विश्लेषकका अनुसार उक्त विधेयकको कारण हंगकंगमाथि चीनको नियन्त्रण अझै बढी रहन जाने छ।

चीनको विशेष प्रशासकीय क्षेत्र मानिने हंगकंगको स्थानीय प्रशासनले यस विधेयकलाई निलम्वित गरिसकेको छ। तर स्थानीय जनता बृहत प्रजातान्त्रिक अधिकारको माग राख्दै प्रदर्शन गरेका छन्।

हंगकंग चीनकै भूभाग भएपनि यहाँ एक मुलुक दुई पद्धतिको नीति लागू गरिएको छ। जस अनुसार हंगकंगलाई उच्चस्तरको स्वायत्तता प्रदान गरिएको छ। केहिदिनयता प्रहरी र प्रदर्शनकारीबीच को झडप चर्किदै गइरहेकाले हंगकंगका सरकारी नेता क्यारी लामले यो शहरमा अस्थिरता व्याप्त हुनसक्ने चेतावनी दिएका छन्।

विश्वभरिका गगनचुम्वी भवन चढेर नाम कमाइसकेका ५७ वर्षीय रोवर्टले आफ्नो यस स्टन्टका ेप्रमुख उद्देश्य ‘तत्काल शान्ति स्थापनाको आह्वान’ रहेको स्पस्ट पारेका छन्।
पत्रकार सामु उनले भनेका छन्, –‘शायद मेरो यस प्रयासबाट राजनीतिक अस्थिरताको तापक्रममा केही गिरावट आउने छ , मुस्कान ल्याउने छ। जेहोस यो मेरो आशामात्र हो।’

आफ्ना विगतका चढाईमा जस्तै यसपालि पनि रोवर्टले बिना डोरी र हार्नेसको प्रयोग चढाई गरेका हुन्। सावोर्ट ६८ तल्ले चेउँग कोंग सेन्टर चढ्नुको कारण हंगकंगका जनता र सरकारबिच शानित र समझादारीका लागि आब्हान गर्नु रहेको बताएका छन्।

यो सेन्टर एसियकै सबैभन्दा धनीहरू मध्ये एक अर्बपति लि का सिंगको हो।सामाजिक सञ्जालमा उनको यस कार्य प्रति मिश्रित प्रतिक्रिया आइरहेका छन्। उनले प्रयाशः आफ्ना यस्ता स्टन्ट बिना कुनै पूर्व सुचना र अनुमति गर्ने गरेका छन्। उनले विगतमा पनि यहि सेन्टरलगायत हंगकंगका अन्य थुप्रै भवनहरू चढिसकेका छन्।

गत वर्षको अगस्टमा हंगकंगको एक अदालतले ३ सय ६५ दिनसम्म त्यहाँका अन्य कुनै पनि भवन चढ्न नपाउने प्रतिबन्ध लगाएको थियो। तर त्यो प्रतिबन्ध फुकुवा भइसकेको हो वा होइन भन्ने स्पस्ट भएको छैन।

यसै वर्षको शुरूमा रोवर्टलाई फिलिपिन्सको राजधानी मनिलास्थित ४७ तल्ले टावर चढेको अभियोगमा गिरफ्तार गरिएको थियो। उनले विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बूर्ज खलिफा पनि चढिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्