यमनको एडेनमा साउदी हवाई आक्रमण


एडेन । साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद (एसटीसी) सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ ।

नाम बताउन नचाहने एक साउदी अधिकारीले यमनको एडेनस्थित सरकारी संस्थाहरुमाथि आक्रमण गर्ने एसटीसीमाथि हवाई कारबाही गरिएको जानकारी दिनुभयो । यो चेतावनीस्वरुप गरिएको पहिलो कारबाही रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले हवाई कारबाहीबाट भएको जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको पनि बताउनुभयो ।

हवाई कारबाही पश्चात् एसटीसीसँग आबद्ध सेनाले आफ्नो गन्तव्यमा फिर्ता भएको जनाएको छ । राष्ट्रपति कार्यालय र सरकारी सुरक्षाफौजको अखडा समेतमा कब्जा जमाएको एसटीसीले साउदी सरकारको अनुरोधलाई स्वीकार गरेको बताएको छ ।

एसटीसीका प्रवक्ताले जारी गरेको वक्तव्यमा यमन सरकारसँगको वार्तामा सहभागी हुन साउदी अरेबियाले अनुरोध गरेको भन्दै त्यसको स्वागत गरिएको छ ।

यमन युद्धमा सहभागी भएको साउदी गठबन्धनले शनिबार एसटीसीलाई एडेनमा तत्काल युद्धबिराम गर्न चेतावनी दिएको थियो । साउदी सञ्चार माध्यमका अनुसार साउदी गठबन्धनले युद्धबिराम नगरे थप हवाई कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।

हाल यमनको राजधानीमा हुथी बिद्रोहीले कब्जा गरेका कारण साउदी मान्यताप्राप्त सरकारले एडेनलाई अस्थायी राजधानी बनाएको छ । एडेनमा सक्रिय एसटीसीलाई भने साउदी गठबन्धनमै सामेल युएईले आर्थिक तथा सैनिक सहयोग गरिरहेको यमन सरकारको भनाइ छ ।

यमन सरकारले सन् २०१५ देखि एडेनलाई राजधानी बनाएको छ । सन् २०१४ देखि शुरु भएको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ । यमनमा हुथी विद्रोहीलाई राजधानी साना सहित अधिकांश भूभागमा कब्जा जमाएको छ । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।