गुठीहरुको राष्ट्रिय सम्मेलनको सवाल



कृष्ण प्रजापति
जब–जब आफूहरुलाई ठूला–ठूला समस्या आइपर्छन्, तब–तब हामी आपसमा मिलेर बस्न जान्ने गरेका छौं । पृथ्वीनारायण शाहले नेपालमण्डल जित्ने क्रममा भक्तपुरमा आक्रमण गर्ने तरखर गरिरहेको थिए । त्यस बेला भक्तपुरका सम्पूर्ण ‘गुथि गाना’ दत्तात्रय चोकमा भेला भए । भेलाले गोर्खाका राजा पृथ्वीनारायण शाह आफ्नो मित भए पनि उनीसँग युद्ध नै गर्ने निर्णय गरेको थियो ।

यो एक हिसाबले भक्तपुरका गुठियारहरुको त्यो बेलाको साहस पनि हो । काठमाडौंलाई इन्द्रजात्राको दिन नेवाःहरु भोजभतेरमा मस्त भएको दिन पारी सजिलै जितेको र पाटनलाई ६ प्रधानहरुले सजिलै गद्दी त्याग गरिदिएर पृथ्वीनारायण शाहले राज्य कब्जा गरेको भए पनि भक्तपुरले भने त्यसरी सजिलै आफ्नो राज्य कब्जा गर्न दिएन । बरु लडेर मरेर जानुपर्दछ भन्ने आफ्नो अडान कायम गरेपछि यहाँ तीन दिन तीन रातसम्म युद्ध भएको इतिहास छ । त्यो बेलादेखि थाहा भयो कि ‘भाइ फुटे गँवार लुटे’ भनेझैँ हामी आपसमा नमिली लडेर बस्यौं भने अरुले नै यहाँ आएर फाइदा लिँदा रहेछन् ।

यस्तो विभिन्न इतिहासले पनि देखाउँछ कि चाहियो भने हामी आपसमा मिलेर बस्न जान्ने खालका रहेछौं । गुठी विधेयकका विभिन्न बुँदाहरु अध्ययन गर्दै गर्दा विभिन्न किसिमले मोहियानी हक सुरक्षित नहुने, जग्गा जोतिरहेकालाई जग्गाबाट वञ्चित गर्ने र जग्गा गुठीको नाममा पनि नरहने, न मोहीको नाममा रहने, अनि न त त्यो गुठीको जग्गा सदुपयोग गरी हामीले आफ्नो धर्म, संस्कृति र संस्कार जगेर्ना नै गर्न सकिने आदि कठिन स्थिति आउने स्पष्ट भएका कारण आज नेवाः जाति एक भएर सडक संघर्षमा उत्रनुपरेको अवस्था आइलागेको हो ।

हाम्रो धर्म, संस्कृति र परम्परा बचाइराख्ने हो भने यो दाफा भजन खलः, धल्चा गुठी, मूर्दा गुठी एवम् परम्परागतरुपमा लामो समयदेखि सञ्चालनमा रहेका विभिन्न खालका गुठी अनि गुठीका जग्गा नै बचाउनु आवश्यक छ । त्यसको लागि पनि यो समयमा हुन गइरहेको गुठीहरुको राष्ट्रिय सम्मेलन सही हो भन्ने देखिन्छ ।

यो अत्यन्तै राम्रो पक्ष पनि हो । नेवारहरु उठेका कारण आज दुई तिहाइ बहुमत भएको सरकारसमेत पछि हट्न बाध्य भएको छ । विदेशबाट फिर्ती सवारी हुनेबित्तिक्कै प्रधानमन्त्री केपी ओलीले आफ्नो ससुरालीमा फोन गरी काठमाडौंले मलाई के भन्यो भनेर सोधेको बखत ‘भाजु ला बेमान खनिं’ भन्यो भनी सुनाएपछि हाम्रा ज्वाइँ साहेब प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक फिर्ता लिन बाध्य भएका हुन् ।

त्यसो भए तापनि फेरि–फेरि यसरी नै अन्यायपूर्वक गुठी विधेयक सदनमा प्रस्ताव गर्न सकिने कुरा भने अहिले पनि कायम छ । सदनमा नयाँ–नयाँ विधेयक पारित गर्नका लागि प्रस्ताव गर्नु स्वाभाविक हो । यो समयमा राष्ट्रिय सभामा गुठी विधेयक पेस गरेको थियो । राष्ट्रिय सभा बुद्धिजीवीहरुको वा विभिन्न क्षेत्रका विज्ञहरुको छलफल गर्ने थलो हो । विधेयक त तल्लो सदन वा प्रतिनिधिसभा वा सदनमा पेस गर्नुपर्ने थियो । तर जनप्रतिनिधिमूलक सभाको रुपमा लिइने प्रतिनिधिसभा वा तल्लो सदनमा पेस नगरी एकैपल्ट माथिल्लो सदनमा पेस गरी तल ल्याउने वा सुटुक्क पास गर्ने षड्यन्त्रस्वरुप यो विधेयक ल्याएको देखिन्छ । यो विधेयक दर्ता हुनुको पछाडि केही समयअगाडि मात्रै नेपालमा क्रिश्चियनहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको र सो सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीलाई एक करोड पुरस्कार प्रदान गरेको मात्रै होइन कि उनलाई मानार्थ विधावारिधिबाट सम्मान गरी नेपाल देशलाई क्रिश्चियन मुलुक गर्न खोजेको कुरा पनि सम्बन्धित भएको छ ।

त्यस बेला सबैलाई क्रिश्चियन गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘होली वाइन’ छर्काएर पवित्र पादरीको दर्ता दिएझैँ अहिले पनि होली वाइन प्रयोग गरी परम्परा नष्ट गर्नका लागि गुठी विधेयक आएको देखिन्छ । नेपाललाई पूर्णरुपमा क्रिश्चियत मुलुक बनाउनको लागि पहल भएको देखिन्छ । त्यो भएर नै आज नेवाः समाजले गुठीहरुको राष्ट्रिय सम्मेलन गर्नुपरेको हो । क्रिश्चियनहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गरी होली वाइन छर्केर सबै नेपालीलाई क्रिश्चियन बनाउने अभियान सञ्चालन गरे । नेवाः जातिलाई एकजुट पार्ने आधार भनेकै गुठी हो, दाफा हो । कुनै बखत नेपालमण्डल टेलिभिजनले दाफा भजनको राष्ट्रिय सम्मेलन गरी दाफा गीत गाउन लगाएर नेवाः जातिले बाँच्ने र जीवन चलाउने मूल आधारको रुपमा रहेको दाफालाई विकास गर्ने शुरुवात गरी देखाएको थियो ।

अहिले पनि शताब्दी पुरुष सत्यमोहन जोशीजस्ता महान् व्यक्तिहरुको समर्थनमा यो दाफासँग सम्बन्धित ‘गुथि गाना’को राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको छ । यसरी हेर्ने बखत नेपालमा गुठीको तर्फबाट नै जमिन र जग्गाको अस्तित्वलाई जगेर्ना गरी यहाँको जात्रापर्व र रहनसहनलाई अहिले पनि निरन्तरता दिइरहेको पाइन्छ । हाम्रो धर्म, संस्कृति र परम्परा बचाइराख्ने हो भने यो दाफा भजन खलः, धल्चा गुठी, मूर्दा गुठी एवम् परम्परागतरुपमा लामो समयदेखि सञ्चालनमा रहेका विभिन्न खालका गुठी अनि गुठीका जग्गा नै बचाउनु आवश्यक छ । त्यसको लागि पनि यो समयमा हुन गइरहेको गुठीहरुको राष्ट्रिय सम्मेलन सही हो भन्ने देखिन्छ ।

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको तर्फबाट नेवाःहरुलाई विभिन्न खालका समस्या आउनेबित्तिक्कै राष्ट्रिय सम्मेलन गरी समस्याको समाधान गर्ने उपाय खोज्ने कार्य भइरहेको छ । नेपाल संघीयतामा गएपछि यो देशलाई कसरी संघ राज्यमा ल्याउने भन्ने कुरामा पनि नेवाः जातिको धारणामा एकरुपता ल्याउने हेतुले नेवाः देय् दबूको तर्फबाट राष्ट्रिय सम्मेलन गरेको थियो । पाटनमा त्यो बेला नेवाः देय् दबूले राष्ट्रिय सम्मेलन गरी नेपालमण्डल क्षेत्र वा उपत्यकालगायत वरपरका १३ वटा जिल्लाको क्षेत्रलाई नेपालमण्डल घोषणा गर्ने निर्णय गरेको थियो ।

सो नेपालमण्डल राज्यको मालिक नेवाः जाति आफैं हुनुपर्ने धारणा अगाडि सारेको थियो । तर हालसम्म पनि त्यसको स्पष्ट किटान गर्न भने हुन सकेको छैन । ३ नम्बर प्रदेशलाई नेपालमण्डल वा नेवाः ताम्सालिङ क्षेत्र कुन नाम राख्ने भन्ने विवाद समाधान हुन सकेको छैन । प्रदेश नम्बर ३ नेवाः जातिले लामो समयअगाडिदेखि बनाएको शहर भएका कारण यसको संरक्षण र विकास गर्नको लागि अहिले फेरि गुठीहरुको राष्ट्रिय सम्मेलनले पनि नेपालमण्डल वा नेवाः ताम्सालिङ क्षेत्रको बारे कुरा उठाउने स्पष्ट देखिन्छ ।

नेवाः देय् दबूको जातीय परिषद्को बैठकले यसरी नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको तर्फबाट गुठीहरुको राष्ट्रिय सम्मेलन गर्ने निर्धारण गरेको हो । गुठी भनेको पुरानो खालको सहकारी संस्थाझैँ हो । सहकारी संस्थाको शुरुवात नेपालमा २०१३ सालमा चितवनको बखानपुरबाट भएको मानिन्छ । तर नेपालमा गुठीको शुरुवात वा गोष्ठीको शुरु भने २ हजारदेखि २५ सय वर्षअगाडिदेखि नै भएको रेकर्ड छ । यसरी पहिला–पहिला यो जात्रा, पर्व र सामूहिक कार्य जेसुकै गर्नुपरे पनि गोष्ठी, गुठी वा गुठीको तर्फबाट नै हुने भएकाले पनि पञ्चायती काल र पृथ्वीनारायण शाहले नेपाल कब्जा गरिसकेपछि भने गुठीलाई निमिट्यान्न पार्ने खालका विभिन्न उपायहरु गर्दै आइरहेको पाइन्छ । त्यसैले पनि यो बखत नेवाः जाति एक भएर गुठीहरुको राष्ट्रिय सम्मेलन गर्नुको महत्व नै अर्कै छ ।

प्रतिक्रिया दिनुहोस्