आठ महिनामा वस्तु व्यापारघाटा ८८७ अर्बभन्दा बढी



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको आठ महिनामा कुल वस्तु व्यापारघाटा २४ दशमलव ५ प्रतिशतले विस्तार भई ८८७ अर्ब ८८ करोड रुपिया“ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यात १४ दशमलव ६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो ।

यस अवधिमा भारततर्फ २६ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ १ दशमलव ३ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ २७ दशमलव ६ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाललगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।


आठ महिनाको अवधिमा कुल वस्तु आयात २३ दशमलव ८ प्रतिशतले बढेर ९४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२ प्रतिशत, चीनबाट भएको आयात ३७ दशमलव ८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २० दशमलव ८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामग्रीलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।

फागुन महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा १.५ प्रतिशत र आयात मूल्य सूचकांक ४ दशमलव ३ प्रतिशतले बढेको छ । २०७४ फागुन महिनामा ४ दशमलव २ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा २ दशमलव ७ प्रतिशतले घटेको छ ।
सेवा समीक्षा अवधिमा खुद सेवा आय १२ अर्ब ३० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २ अर्ब ४५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ९ दशमलव ५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ४३ अर्ब ४६ करोड रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन व्यय समीक्षा अवधिमा २१ प्रतिशतले वृद्धि भई ६१ अर्ब ४९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ३२ अर्ब १७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पर्यटन व्यय ५० अर्ब ८३ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्