आठौं राष्ट्रिय खेलकुद शुरु, हक्कीमा डिफेन्डिङ च्याम्पियन बराबरीमा



बाँके, (नेस)
बुधबारदेखि प्रदेश ५ नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको छ ।

पहिलो दिन पुरुष हक्कीअन्तर्गत सम्पन्न तीन खेलमा प्रदेश २ र प्रदेश ५ विजयी भएका छन् भने डिफेन्डिङ च्याम्पियन आर्मीले गण्डकी प्रदेशसँग बराबरी खेलेको छ । पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई गण्डकी प्रदेशले बराबरीमा रोकेको हो । लगातारको आक्रमण र ११ पेनाल्टी पाएपनि आर्मीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भयो ।

नेपाली राष्ट्रिय टीमबाट साफ खेलेका रन्जित रावत, दिपेन्द्र ऐर, राम शाह, अमित श्रीवास्तव र सत्यनारायण चौधरीमात्रै होइन, अन्तर्राष्ट्रिय अनुभव संगालेका देवसिंह धामी, प्रदशीप राजवंशी, रोशन चौधरी र नरेन्द्र कार्की आर्मीको टीममा छन् ।

गण्डकी प्रदेशबाट अन्तर्राष्ट्रिय अनुभव लिएका प्रेम विक, सागर खाँड र आशिक नेपाली छन् भने अरु उदयमान छन् । गण्डकी प्रदेशका प्रशिक्षक राजेन्द्र पाठकले आर्मीलाई बराबरीमा रोक्दा खेल जितेसरह भएको प्रतिक्रिया दिए । हुन त गण्डकीले दुई महिना अघि भएको गिरिजाप्रसाद कोइराला मेमोरियल हक्की प्रतियोगिताको फाइनलमा आर्मीलाई १–० गोलले पराजित गर्दै उपाधी जितेको थियो । त्यतिबेलाका ६ जना सिनियर खेलाडी अहिले गण्डकी प्रदेशमा छैनन् ।

दोस्रो खेलमा प्रदेश नम्बर २ ले ३ नम्बर प्रदेशलाई ५–० गोलले पाखा लगायो । चार जना राष्ट्रिय खेलाडी रहेको २ नम्बर प्रदेशले ३ नम्बर प्रदेशलाई सहजै पराजित गरेको थियो । २ नम्बरबाट गोविन्द अधिकारी र अरविन्दर सिंहले २÷२ तथा मनोजकुमार शाहले एक गोल गरेका थिए । २ नम्बरबाट राष्ट्रिय खेलिसकेका प्रवेज आलम, राम शाह, अर्जुन खड्का र कल्याण ठाकुर मैदानमा उत्रिएका थिए । २ नम्बर प्रदेशका प्रशिक्षक रविन्द्र सिंहले पहिलो हाफको १५ मिनेटमा अलमल परेपनि त्यसपछि खेल सुध्रेको बताएका थिए ।


नेपालगञ्जको मंगलप्रसाद माविको मैदानमा भएको तेस्रो खेलमा ५ नम्बर प्रदेशले १ नम्बर प्रदेशलाई ३–० गोलले पराजित ग¥यो । ५ नम्बर प्रदेशका लागि सोनु लामा, अमनकुमार र मनिष गुरुङले गोल गरेका थिए । पुरुष हक्कीमा ७ प्रदेश र दुई वटा विभागीय टीमले प्रतिस्पर्धा गरिरहेको हक्कीका चिफ कोच विजयन्त शर्माले जानकारी दिनुभयो । महिलातर्फ भने ६ वटा टीम रहेका छन् ।

स्क्वास

आठौं अन्तर्गत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समै प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउदै अन्तिम आठमा स्थान सुरक्षित गरे ।

त्यस्तै प्रदेश २ का दीपक थापाले एपीएफका मित्रलाल गुराउलाई १०–१२, ११–७, ६–११, ११–६ र ११–५, एपीएफका विक्रम मगरले प्रदेश ३ का विनोदरत्न शाक्यलाई ११–५, ११–५ र ११–७ तथा प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले प्रहरीका आकाश सुनुवारलाई ५–११, ११–७, ११–४, ८–११ र १६–१४ ले पाखा लगाउदै अन्तिम आठमा पुगे । प्रदेश १ का निशान्त अग्रवालले प्रहरीका सुदीपबहादुर सिंहबाट वाकओभर पाएर अन्तिम आठमा प्रवेश गरे ।

कुश्ती
प्रदेश नं. २ का सरोज यादवले आठौंअन्तर्गत १४औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । १२ औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजित गरेका हुन् । यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले नेपाली सेनाका अदीप खड्कालाई लाई र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई पराजित गर्दै क्वाटरफाईनलमा पुगे ।

कपिलबस्तु जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ५० केजीमा सेनाकी लक्ष्मी तामाङ्ग र प्रदेश ७ की मनिषा सिंहले जितको सुरुवात गरे । यस्तै ५३ केजीमा सेनाकी कोपिला थाम, ५५ केजीमा प्रदेश ५ की सपना श्रेष्ठले जित निकाले । ५७ केजीमा सेनाकी कल्पना बि.क. र प्रदेश ७ की अम्बिका भण्डारीले जित निकाल्दै अर्को चरण प्रवेश गरे ।

लनटेनिस
आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् । बुटवलमा भइरहेको प्रतियोगितामा आर्मीले प्रदेश ३ लाई ३–० तथा एपीएफले प्रदेश ४ लाई २–१ को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टको दुवै सेमिफाइनल खराब प्रकाशका कारण स्थगित भयो ।

टेबलटेनिस
आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टमा प्रहरी र एपीएफबीच उपाधि भिडन्त हुने भएको छ । दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे ।
पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्