भ्रमण वर्षलाई सफल बनाउन प्रम ओलीको आग्रह



काठमाडौं (नेस) ।

प्रधानमन्त्री तथा नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितिका अध्यक्ष के.पी.शर्माओलीको अध्यक्षतामा नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक
समितिको बैठक बसेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न भयो । बैठकमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण बर्ष, २०२० लाई सफल बनाउन सवैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

देश विकासको प्रमुख आधारका रुपमा रहेको पर्यटन प्रवर्द्धन गरी भ्रमण बर्षमा कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष प्राप्तिका लागि सरकारी निजी एवं सार्वजनिक सवै क्षेत्रको सहकार्यमा कार्यक्रमहरु अगाडि बढाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भ्रमण बर्ष लाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेकोले नेपाल सरकार र स्वयं आफ्नो पूर्ण साथ रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

उक्त बैठकले मिति २०७५ फाल्गुण १५ गते ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिकावडा नं १० दारेढुंगा सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा परी माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजकसमितिका संयोजक रविन्द्र प्रसाद अधिकारी लगायत पर्यटन व्यवसायी, राष्ट्रसेवक कर्मचारीहरु एवं पाइलटको दुखद निधन भएकोमा हार्दिक श्रदाञ्जली व्यक्त गरेको छ ।

बैठकले ‘नेपालभ्रमणवर्ष,२०२० अभियानको आ.व. २०७५र०७६ को बजेट तथा कार्यक्रम’ स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल भ्रमण वर्ष,२०२० को आ.व. २०७५र७६ को स्वीकृत बजेट तथा कार्यक्रममा आवश्यकताअनुसार स्वीकृत शिर्षकमा १० प्रतिशत सम्म रकमान्तर गर्न राष्ट्रिय कार्यक्रम संयोजकलाई र थप १५ प्रतिशत सम्म रकमान्तर गर्न कार्यक्रम कार्यान्वयन उपसमितिलाई अख्तियारी दिने निर्णय समेत उक्त बैठकले गरेको छ । यस बैठकले सम्पूर्ण सार्वजनिक निकायहरुको कार्यसम्पादनको क्रममा प्रयोग गर्ने पत्राचारमा तथा सवै निकायका वेभसाइटहरुमा वि.सं. २०७६ र वि.सं. २०७७ भर नेपाल भ्रमण वर्ष,२०२० को नारा सहितको लोगो राख्नका लागि सवैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

नेपाल भ्रमण वर्ष, २०२० लाई उत्साहका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने सन्दर्भमा प्रदेश सरकार तथा स्थानीय तहहरुमा समेत प्रचार प्रसार लगायतका कार्यक्रमहरु समन्वयात्मक रुपमा गर्ने गराउने निर्णय भएको छ ।
नेपाल भ्रमण बर्ष, २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले भ्रमण वर्षका कार्यक्रमहरुको प्रस्तुतिकरण गर्नुभएको उक्त बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूले सहभागीहरुलाई स्वागत गर्दै भ्रमण वर्ष सफल वनाउन नीतिगत सुधार एवं पूर्वाधार विकास गर्दै सरोकारवाला सवैको साथ र सहयोग अपरिहार्य देखिएको वताउनु भयो ।

उक्त बैठकमा पर्यवटन सम्वद्ध निजी क्षेत्रका व्यवसायीहरु, उद्योग बाणिज्य महासंघका अध्यक्ष, गैर आवासीय नेपाली संघका अध्यक्ष लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, प्रदेश नं १, ३, गण्डकी प्रदेश, ५ नं. र कर्णाली प्रदेशका माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीज्यूहरु, प्रदेश नं. २, ५ र कर्णाली प्रदेशका माननीय मुख्य मन्त्रीज्यूहरुले नेपाल भ्रमण बर्ष, २०२० लाई सफल वनाउन पर्यटन प्रवर्द्धनका विविध पक्षमा आफ्नो धारणा राख्नु भयो ।

बैठकमा गैर आवासीय नेपाली संघ(एनआरएनए)ले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको पहिचान गरी त्यसलाई विभिन्न १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने प्रतिवद्धता अनुरुप
नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार–प्रसार गर्ने लगायतका कार्यक्रम संचालन गर्न लागिएको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्