जिल्ला सहकारी संघमा अनियमितता



काठमाडौं, (नेस)
युवा स्वरोजगार कोषबाट रकम लिई कालोसूचीमा परेका तरकारी तथा फलफूल सहकारी महासघंका केन्द्रीय अध्यक्ष, जिल्ला सहकारी संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपालिका– ३ का वडा अध्यक्ष विनोद पराजुलीविरुद्ध अख्तियारमा उजुरी परेको छ। अध्यक्ष पराजुली कालोसूचीमा रहँदा रहँदै वडा अध्यक्षको उम्मेदवार भई निर्वाचित भएका थिए। जिल्ला सहकारी संघमा अध्यक्षसमेत रहेका पराजुलीले सहकारी संघबाट स्मारिका प्रकाशन, कम्प्युटर खरिद, कार्यक्रमका नाममा नक्कली कागजात तयार गरी ३५ लाखभन्दा धेरै रकम अनियमितता गरेको आरोप छ।

मन्त्रालयबाट प्राप्त सहकारी बजार विकास कार्यक्रमको ७६ लाख रकम व्यक्तिगत खातामा जम्मा गरेका छन्। सचिव दिलिप शर्मा, सदस्य ठाकुरनाथ अधिकारीसमेतको मिलमतोमा अध्यक्ष पराजुलीले रकम अनियमितता गरेको समाचार प्रकाशन भएलगत्तै बैठकमा कोषाध्यक्ष रामकृष्ण अधिकारीले छानविनको माग गर्दा कोषाध्यक्ष कुटाईबाट जोगिएका छन्। नेकपाका नेता समेत रहेका राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, पूर्वराज्यमन्त्री सूर्यमान दोङ, नारायण पाण्डे, सहकारी मन्त्रालयका कर्मचारीको समेत अनियमितता जोगाउन दबाब परेको छ।

संघबाट सूचना व्यवस्थापन तथा तथ्यांक विश्लेषण पुस्तिका छपाईका लागि ९० हजार ६१ रुपियाँ भुक्तानी गरेको छ। उक्त रकम सचिव दिलीप शर्मा जंगमले बुझिलिएका छन्। अध्यक्ष विनोद पराजुलीको निर्देशनमा भएको उक्त भुक्तानी अध्यक्ष पराजुली, सचिव शर्मा र सदस्य ठाकुरनाथ अधिकारीले बुझिलिएका छन्। जिल्ला सहकारी संघमा उक्त पुस्तक प्रकाशन भएको रेकर्ड नभएको सञ्चालक सदस्यले बताएका छन्। एक हजारप्रति पुस्तक छाप्ने भन्दै रकम भुक्तानी भएको बिल बुझाइएको छ।

११ सय प्रति पुस्तिका प्रकाशनका लागि ८६ रुपियाँ ७५ पैसा मूल्यमा १ लाख ७ हजार ८ सय ३० रुपियाँ भुक्तानी गरिएको छ। सहकारी विभाग तथा अन्य स्थानमा पुस्तकको कभर मात्रै बुझाएर उक्त रकम सचिव शर्माले बुझिलिएका छन्। तर, पुस्तक प्रकाशन भएको छैन। त्यस्तै कार्यालयमै पहिला नै खरिद गरी भुक्तानी भइसकेको कम्प्युटर देखाएर ८० हजार १ रुपियाँ भुक्तानी गरिएको छ। कम्प्युटर नै खरिद नगरी बिल मात्रै ल्याई सचिव शर्मा र अध्यक्ष पराजुलीले उक्त रकम बुझिलिएका छन्।

प्रतिक्रिया दिनुहोस्