महालक्ष्मी लाइफ इन्स्योरेन्सको शुरुवातमै तीन योजना



काठमाडौं, (नेस)
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबारदेखि कारोबार सञ्चालन गर्ने भएको छ । कारोबार शुभारम्भसँगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिई महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना बिक्री गर्ने कम्पनीले जनाएको छ ।

महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमांकको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरेको छ ।

त्यस्तै लगानी फिर्ता म्यादी बीमा योजनामा बीमाशुल्क भुक्तानीपश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमांक रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ ।

साथै महालक्ष्मी सावधिक बीमा योजनाअन्तर्गत न्यँनतम बीमा शुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ । उपरोक्त तीनवटा बीमा योजनामध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलोपटक सार्वजनिक भएको एकदमै नौला बीमा योजना रहेको कम्पनीको दाबी छ ।

कम्पनीले माघभित्र काठमाडौं, वीरगंज, पोखराबाट र इटहरी, सुर्खेत, धनगढी तथा कोहलपुरबाट फागुन दोस्रो साताभित्र कारोबार सञ्चालनको जनाएको छ ।

कम्पनीकोे चुक्ता पुँजी २ अर्ब रुपियाँ रहेको छ । संस्थापकहरुबाट १४० करोड चुक्ता भइसकेको छ भने ६० करोड रुपियाँ सर्वसाधारणको लागि छुट्याइएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र सञ्चालकहरु उमेश लाल श्रेष्ठ, मोहनराज जोशी र सुरेश सापकोटा रहनु भएको छ ।

कम्पनीले आगामी असार मसान्तसम्म ५० करोड बीमा शुल्क संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्