स्थानीय ठग्दै वित्तीय संस्था



मनोज भट्ट, महेन्द्रनगर
महाकाली नगरपालिकाको दोधारा–चाँदनीमा वित्तीय संस्थाले कर्जा उठाउने भन्दै स्थानीयलाई सताउने गरेको गुनासो छ। दोधारा–चाँदनीका विभिन्न क्षेत्रमा समूहगत रूपमा ऋण लगानी तथा बचत सेवा प्रवाह गर्नका लाागि स्थापना गरिएको वित्तीय संस्थाले स्थानीयलाई चर्को ऋणका साथै समयमा ऋण प्रवाह नगर्ने गरेको र बचत फिर्ता गर्न पनि आनाकानी समेत गर्ने गर्दा स्थानीयले सास्ती खेप्नु परेको छ।

नेसनल माइक्रो फाइनान्स शाखा कार्यालय सुडा, कञ्चनपुरको नाममा दोधारा–चाँदनीमा पनि कारोबार गर्दै आएको वित्तीय संस्थाले नियमित ग्राहकलाई पनि समयमा ऋण प्रवाह नगर्ने, एक वर्ष हुँदासम्म पनि पासबुक नदिने, ब्याजका लागि आनाकानी गर्ने गरेको स्थानीय महाकाली–७ की भुमा सार्कीले बताउनुभयो। माहाकाली नगरपालिकाको १० वडा तथा टोल–टोलमा समूह बनाई बचत संकलनसंँगै ऋण प्रवाहको नाममा उक्त वित्तीय संस्थाले समस्या नै समस्यामात्रै निम्त्याउने गरेको र आफूहरूलाई ठग्ने गरेको स्थानीयको आरोप छ।
नेसनल माइक्रो फाईनान्स शाखा कार्यालय सुडाले उपशाखा कार्यालय महाकाली नगरपालिकामा पनि सञ्चालन गर्दै आएको छ। वित्तीय संस्थाले ऋण चुक्ता गर्न दिएको रकम ५ महिनासम्म उक्त संस्थाका कर्मचारीले ब्याज चुक्ता नगरेर ४० हजार आफ्नो खाता नदेखाएको स्थानीय लक्ष्मी थापाले बताउनुभयो। लामो झगडा र धेरै दिनको वार्तापश्चात मात्र उक्त रकम आफ्नो बचतमा राखिएको थापाको भनाइ छ। उहाँले भन्नभयो–‘मेरो ४० हजारको ५ महिनाको ब्याजसमेत पाइन।’

नेसनल माइक्रो फाइनान्सका कर्मचारी फिल्डमा जाँदा १ लाख ५० हजार ऋण पाउनुहुन्छ भनेर समूहमा फारम भर्न लगाउने तर कार्यालयमा पुग्दा भने एक लाख हात थमाएर पठाउने गरेको स्थानीयको आरोप छ। दोधारा–चाँदनीका दर्जनौ महिलालाई उक्त वित्तीय संस्थाले झुक्याउँदै स्थानीयले आरोप लगाएका छन्।

सबै ऋण चुक्ता गरेर आफ्नो बचत रकम फिर्ता पाउँ भनेर बारम्बार अनुरोध गर्दा गर्दै महिनौं बित्दासमेत आफ्नो बचत रकम फिर्ता समेत नगरेको महाकाली– ७ की सुधा श्रेष्ठको गुनासो छ। ‘बचत गरेको पैसा फिर्ता गर्न मान्दैनन्। ऋण पनि दिन मान्दैनन्’ नेसनल माइक्रो फाइनान्सको समूहमा आबद्ध महिलाको आरोप छ। महाकाली नगरपालिकामा सञ्चनलनमा रहेको उक्त वित्तीय संस्थाले स्थानीयको लगानीलाई मात्रै समय बिनाको खेती बनाएको स्थानीय बुद्धिजीवीको तर्क छ।

प्रतिक्रिया दिनुहोस्