इन्टरनेटको पहुँचमा सिउरुङ होमस्टे



नेपाल समाचारपत्र, लमजुङ
जिल्लाको पर्यटकीय गाउँ सिउरुङका होमस्टेहरूमा इन्टरनेटको पहुँच विस्तार भएको छ। सिउरुङ गाउँमा पुग्ने पर्यटकलाई सरल र सहज तरिकाले इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहुँच बढाइएको हो।

मस्र्याङ्दी गाउँपालिका– ३ को पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक वाईफाईसहितको इन्टरनेट सेवा विस्तार गरिएको हो। पहिलो चरणमा सबै होमस्टेमा वाईफाईसहितको इन्टरनेट सेवा विस्तार गरेको सिउरुङ पर्यटन विकास समितिका सचिव उमर गुरुङले बताउनुभयो।
उहाँका अनुसार १ सय २० घरधुरी रहेको पर्यटकीय सिउरुङ गाउँमा हाल १५ घरमा होमस्टे सञ्चालनमा छन्। इन्टरनेट सेवा विस्तारका लागि लमजुङ उद्योग वाणिज्य संघले सहयोग गरेको गुरुङले बताउनुुभयो। उहाँका अनुसार एउटा होमस्टेमा इन्टरनेट जडान गर्न १८ हजार रुपियाँ खर्च भएको छ। सेवा सहज, सरल र सबल होस् भनेर प्रत्येक होमस्टेमा छुट्टाछुट्टै रूपमा इन्टरनेट सेवा विस्तार गरिएको गुरुङको भनाइ छ। उहाँले भन्नुभयो–‘धेरै समयदेखि इन्टरनेट जडानका लागि गरेको प्रयास बल्ल सफल भयो।’

सिउरुङ गाउँ पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ। पछिल्लो समय सिउरुङ जाने पर्यटकको संख्यामा समेत वृद्धि हुँदै गएको छ। हिमश्रृंखलाको मनमोहक दृश्यसंँगै ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन, सिउरुङको वर्णन गरेर साध्य छैन।

सिउरुङ गाउँका गुरुङ महिलाको विनम्र व्यवहारले पाहुनाहरूको मन फुरुङ हुन्छ। गाउँमा करिब तीन सयजना अट्ने सामुदायिक भवन छ। जहाँ साँझ खाना खाएपछि सबै जम्मा हुन्छन् र नाचगान गर्छन्। गुरुङ समुदायको रोधी संस्कृति पनि सिउरुङ गाउँमा देख्न सकिन्छ।
यसका लागि खुदी गाउँपालिका, जिल्ला विकास समिति लमजुङ, लमजुङ उद्योग वाणिज्य संघ र राष्ट्रिय प्रकृति संरक्षण कोष ९अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, सहयोग गर्दै आएका छन्। ग्रामीण पर्यटन प्रवद्र्धन गरी स्थानीय कला संस्कृतिको संरक्षण गर्न तथा गाउँको प्रचार प्रसारका लागि सिउरुङबासीले २०६२ सालदेखि हरेक वर्ष महोत्सवको आयोजना पनि गर्दै आएका छन्।

समुन्द्री सतहदेखि १ हजार ८५४ मिटरको उचाईमा रहेको सिउरुङ गाउँ पुग्ने धेरै पैदल बाटा छन्। लमजुङ सदरमुकाम बेसीशहर झरेर चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने सिउरुङ यतिवेला मोटर पुगेका कारण भने कच्ची सडक सुचारु भएका कारण करिब दुई घण्टा जीपको यात्राबाट पुग्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्