ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको आन्दोलन स्थगित



नेपाल समाचारपत्र, काठमाडौं
ब्याजदर वृद्धिविरुद्ध मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आन्दोलन स्थागित भएको छ। प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा निजी क्षेत्र, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा नेपाल राष्ट्र बैंक विराटनगर सम्बन्धित सरोकारवालाबीच छलफल गरी उद्योगी व्यापारीको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता प्राप्त भएकाले पूर्वघोषित चरणबद्ध आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका अध्यक्ष एवम् पदाधिकारीसहितको टोलीसँग बसेको छलफल कार्यक्रममा सम्बन्धित पक्षले आफ्नो भूमिका निर्वाह गर्ने सहमति गरेका छन्। सहमति गरिएका बुँदाहरूमा निजी क्षेत्रका प्रतिनिधिहरूले अघि सारेका मागपत्र अनुसारका माग पूरा गर्नेतर्फ स्थानीय प्रशासन र प्रदेश सरकारका तर्फबाट तत्काल कार्यान्वयनका निम्ति सिफारिससहित सरकार र नेपाल राष्ट्र बैंकमा पहल, ताकेता र जानकारी गराउने।

उद्योगी व्यवसायीले अगाडि सारेका विरोधका कार्यक्रमलाई सरकारले तत्काल बढीमा माघ मसान्तभित्र सरकार, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघसमेतको संयुक्त वार्ता टोली तयार गरी ज्ञापनपत्रमा उल्लेखित निजी क्षेत्रका मागलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने रहेको छ। त्यस्तै निजी क्षेत्रबाट अघि सारिएका आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगन गर्ने सहमति भएको दुवै संगठनका अध्यक्षद्वारा विज्ञप्तिम उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्