श्रमप्रति जागरुकता ल्याउने अभियान चलाइने



नेपाल समाचारपत्र, काठमाडौं
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमप्रति व्यक्ति तथा समाजको सोचाइमा मै परिवर्तन ल्याउने गरी सरकारले देशव्यापी अभियान शुरू गर्ने अन्तिम तयारी गरिरहेको बताउनुभएको छ। काम गर्ने व्यक्ति सम्मानित हुने र काम नगर्ने व्यक्ति अपमानित हुने खालको संस्कृतिलाई बढावा दिन नसकेसम्म श्रमको सम्मान हुने वातावरण नबन्ने भन्दै मन्त्री विष्टले रोजगारी सिर्जनासँगै श्रमको सम्मानका लागि सरकारले अभियान चलाउन लागेको बताउनु भएको हो।

शुक्रबार मन्त्रालयमा युवा उद्यमी तथा अभियन्ताहरूसँग छलफल गर्दै मन्त्री विष्टले काम सानो ठूलो हँदैन, काम स्वयम्मै सम्मानित हुन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेको बताउनुभएको छ। श्रमको सम्मान तथा रोजगारी सिर्जनाका विषयमा छलफल गर्न मन्त्री विष्टले शक्रmबार केही युवा उद्यमी तथा अभियन्ताहरूसँग मन्त्रालयमा सामूहिक छलफल गर्नु भएको थियो। दायित्व अभियानले संयोजन गरेको छलफलमा खाली शिशी, टुटल, फुड मारियो, आइरनमेन वक्र्स, डोको, रिसाइक्लर्स, हर्वेदा, किङ्स कलेज, कौसी थियटरलगायत रंगमञ्च, कृषि तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका तीन दर्जन बढी युवा उद्यमीको सहभागिता रहेको थियो।

‘काम नगर्ने व्यक्ति, श्रम नगर्ने व्यक्तिको आर्थिक हैसियत रातारात बदलिने तर काम गर्ने, जोखिम मोल्ने, श्रम गर्नेको जीवनमा परिवर्तन नआउने, खालको हालको अवस्थालाई सरकार बदल्न चाहन्छ, ’ छलफलमा मन्त्री विष्टले भन्नुभयो–‘ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जनासँगै श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउने सरकारको तयारी छ।’ कामलाई सम्मान गर्ने संस्कृतिलाई बढावा दिनका लागि मन्त्रालयले लेखक, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमी, सामाजिक अभियन्ता, अनुभवी प्रतिष्ठित व्यक्तिहरूसँग छलफल तथा अन्तक्रिया गरिरहेको समेत मन्त्री विष्टले जानकारी गराउनुभयो।

यतिबेला सरकारले देशभित्रै सरकारी, निजी, सहकारी या अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्ने गरी काम गरिरहेको समेत मन्त्री विष्टले उल्लेख गर्नुभयो। छलफलमा सहभागी उद्यमीहरूले श्रमको सम्मानका लागि समाजको बुझाइमै परिवर्तन ल्याउने गरी सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए। सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम तथा न्यूनतम पारिश्रमिक लागू हुँदा पनि श्रमप्रतिको सम्मान बढ्ने विश्वास उद्यमीहरूको थियो।

 

प्रतिक्रिया दिनुहोस्