७ सय ५३ रोजगार संयोजकका लागि करिब २४ हजारको आवेदन



नेपाल समाचारपत्र, काठमाडौं
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा युवा बेरोजगारको लगत संकलनका निम्ति नियुक्त गर्न लागेको रोजगार संयोजकका निम्ति २३ हजार ९ सय ७८ जना आवेदन परेको छ।

७ सय ५३ पदका लागि मन्त्रालयले माघ ४ गते विज्ञापन गरीे अनलाइन आवेदन खुला गरेको थियो। संयोजक नियुक्तिको लागि मन्त्रालयको मापदण्डलाई पुस ९ गतेको मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेको थियो। आवेदमा प्रदेशनम्बर १ मा १ सय ३७ पदका निम्ति ३ हजार ६ सय ६५ जनाको आवेदन परेको छ।

प्रदेश नम्बर २ मा १ सय ३६ पदका निम्ति ३ हजार ६ सय ७१ प्रदेश नम्बर ३ मा १ सय १९ पदका लागि ४ हजार ९ सय ९४ जनाको आवेदन परेको छ। त्यस्तै गण्डकी प्रदेशमा ८५ पदको लागि १ हजार ५५ जना, ५ प्रदेशमा १ सय ९ पदका लागि २ हजार ३ सय १ जना, कर्णाली प्रदेशमा ७८ पदका लागि ३ हजार ३ सय ७८ जना र सुदूरपच्मि प्रदेशमा ८८ पदका लागि ४ हजार ४ जनाको आवेदन दर्ता भएको मन्त्रालयले जनाएको छ।

१० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजारभन्दा माथि जनसंख्या भएको स्थानीय तहमा शाखा अधिकृत सरहको रोजगार संयोजक एक वर्षका नियुक्त गर्ने मन्त्रालयले जनाएको छ। प्राप्त कुल आवेदनमध्ये ५ हजार ८ सय ५ जना आवेदकले ईमेलमा गई आवेदन भेरिफाई नगरेको पाइएको छ। तोकिएको समय सीमाभित्र आवदेन दिएका तर भेरिफाई नगरेका आवेदकलाई शनिबार राति १२ बजेसम्म भेरिफाई गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ। भेरिफाई नभएका आवेदकको सूची वेभसाइटमा समेत प्रकाशित गरिएको छ। साथै सम्बन्धित आवेदकको मोबाइल नम्बर तथा ईमेल ठेगानामा समेत सो को जानकारी पठाइ सकिएको छ। थप गरिएको समयभित्र समेत भेरिफाई नहुने दरखास्तहरू स्वतः बदर हुनेछन् मन्त्रालयले जनाएको छ।

प्राप्त दरखास्तहरूको तोकिएका मापदण्डका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पदसंख्याको तीन गुणा बराबर आवेदकहरूको योग्यताक्रमको प्रारम्भिक सूची १० दिनभित्र तयार गरी कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइटमा सूचना सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ। सोको जानकारी योग्यताक्रमको प्रारम्भिक सूचीमा पर्ने उम्मेदवारहरूको मोबाइल नम्बरमा समेत पठाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्