पर्खाल निर्माण सम्बन्धी आफ्नो नितिमा कुनै सम्झौता गर्दिन:  ट्रम्प



वासिङटन (एजेन्सी)
अमेरिकाका राष्ट्रपतिले मेक्सिको सीमामा लगाउने भनिएको पर्खाल निर्माण सम्बन्धी आफनो नितिमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

राष्टपति डोनाल्ड ट्रम्पको यो माग अमेरिकी सरकारको कामकाज आंशिक बन्दको कारण बनेको छ । ट्रम्पले पर्खाल निर्माणका लागि ५ अर्ब ६० करोडको बजेट माग गरेका थिए र उसले उक्त रकम कम नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले संकटकाल लागु गर्ने चेतावनी पनि दोहोर्याएका छन् ।
ट्रम्पका नयाँ प्रमुख सचिव मिक मुल्वेनीले यसअघि राष्ट्रपतिले काम बन्दको स्थिति लामो समयसम्म जारी राख्न सक्ने बताएका थिए । डेमोक्र्याटले पर्खालका लागि कोष दिनमा समर्थन गरेको छैन र उनीहरुले उक्त पर्खाललाई अनैतिक बताएका छन् ।

विद्यमान राजनितिक खिचातानीको असर पुरै अमेरिकाले भोगिरहेको छ । विगत दुई हप्तादेखि सरकारी कामकाज बन्द भइरहेको छ र यसको असर करिब ८ लाख संघिय कर्मचारीहरुमाथि परेको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले पर्खाल निर्माण गर्न नदिनेहरु ‘अपराधी‘ भएको र उनीहरु समाप्त हुने बताएका थिए । मेक्सिकोसँग जोडिएको खुला सीमामा पर्खाल बनाउने राष्टपति ट्रम्पको चुनाव प्रतिबद्धता थियो । उनले उक्त पर्खाल निर्माण खर्च मेक्सिको आफैले उठाउने बताएको तर मेक्सिकोले खर्च उठाउन अस्विकार गरेको थियो ।

क्याम्प डेविडमा डेमोक्र्याट प्रतिनिधि मण्डलसँगको हुने वार्ता अगाडी उनले भने– हामीलाई कुनै पनि हालतमा पर्खाल बनाउनु छ ।यो हाम्रो देशको सुरक्षाका लागि अत्यन्त आवश्यक छ । हामीसँग यस्को कुनै विकल्प छैन । यो अत्यन्त महत्वपुर्ण युद्ध हो, जसलाई हामीले जित्नु नै पर्छ ।

काम बन्दको स्थिति भोली नै अन्त्य हुने वा लामो समयसम्म चलिरहन सक्ने भन्ने कुरा डेमोक्र्याटसमा निर्भर गर्न उनले बताए ।

ट्रम्पले संंकटकाल लागु गर्ने आफनो चेतावनी पनि दोहोर्याए । स्थितिलाई केही दिनसम्म हेर्ने र आवश्यक परेमा संकटकाल लागु गर्ने उनले बताए।
अमेरिकी कानुन अनुसार राष्ट्रिय संकटकालको स्थितिमा राष्ट्रपतिलाई सैन्य परियोजनामा प्रत्यक्ष रुमा काग गर्ने अधिकार प्रदान गरेको छ । तर त्यसका लागि आवश्यक रकम रक्षा मन्त्रालयको बजेटबाट आउँछ , जसलाई संसदको स्विकृति प्रदान गरिएको हुन्छ ।

डेमाक्र्याट्सलाई मनाउनका लागि ट्रम्पले सीमामा सिमेन्टको स्थानमा स्टिलको पर्खाल बनाउन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्