मापदण्ड उल्लंघन गर्ने उद्योग कारबाहीमा



नेपाल समाचारपत्र, काठमाडौं
वातावरणीय मापदण्ड उल्लंघन गरेका करिब ५ दर्जन उद्योग र कलकारखाना कारबाहीमा परेका छन् । वातावरण विभागले विभिन्न ४८ उद्योगलाई बयान लिएर सुधारको समय सीमा तोकेको छ भने अन्य कारबाहीमा परेका छन् ।

काठमाडौंको बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजना र विष्णु टेक्सटाइल प्रालि, हारती एग्रिगेट इण्ड्रजष्टिज प्रालि तनहुँ, कमला रोलिङ मिल्स प्रालि मोरङलाई विभागले कारबाही गरेको हो । श्रीकृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल प्रालि बारा र युनाइटेड ब्रुअरी नेपाल प्रालि हेटौंडालगायतलाई जरिवाना र वातावरण मापदण्ड उल्लंघन गरेकोमा कारबाही गरिएको विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले जानकारी दिनुभयो ।

‘विभिन्न ७÷८ वटा उद्योगलाई जनही ५० हजार रुपियाँ जरिवाना गर्दै उल्लंघन भएको मापदण्ड सुधार गर्न समय सीमा तोकेका छौ,’ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । कारबाहीका लागि सम्बन्धित मन्त्रालयलाई समेत पत्राचार गरिएकाले मापदण्ड बाहिर रहने, जरिवाना नतिर्ने जुनसुकै उद्योग ढिलो छिटो कानुनी दायरमा आउने उहाँको भनाइ छ । वातावरण संरक्षण ऐन २०५३ को दफा १८ (२) मा वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योग कलकारखानालाई अधिकतम् ५० हजार रुपियाँ जरिवाना गर्न सक्ने प्रावधान रहेको छ ।

ऐन समय सापेक्ष नहुँदा दण्ड, सजाय र जरिवाना केही हदसम्म प्रभावकारी फितलो बन्ने गरेको वातावरणविद्हरु बताउँछन् । आर्थिक वर्ष २०७४÷७५को अन्त्यसम्ममा १ सय ४० उद्योग प्रतिष्ठानको वातावरणीय पक्ष अनुगमन गरिएको विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले जानकारी दिनुभयो । विभिन्न ४८ उद्योगलाई ३ महिनादेखि १ वर्षको समय सीमा तोकेर वातावरणीय मापदण्ड सुधार्न ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्