हवाई बीमा नेपाली र विदेशीलाई बराबर



काठमाडौं, (नेस)
सरकारले हवाई दुर्घटनामा परेका नेपाली र विदेशी यात्रुको बीमा रकममा समानता ल्याउने तयारी गरेको छ । यसअघि नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम फरक रहेको थियो ।

अब बस्ने मन्त्रिपरिषद्मा नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमामा समानतालाई ल्याउनको लागि प्रस्ताव लगिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो । हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा समानता हुने बताउनुभयो ।

यसअघि हवाई दुर्घटनामा पर्दा नेपालीले ३० लाख रुपियाँ र विदेशीले एक करोड ५० लाख रुपियाँसम्म पाएका थिए भने आगामि मन्त्रिपरिषद्ले यो समान गर्ने निर्णय गरेसँगै नेपाली र विदेशी हवाई यात्रुले पाउने गरेको विमारकमको विभेद अन्त्य हुने छ ।

सरकारले हवाई यात्रुको बीमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आईकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो। नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाए पनि हालसम्म संसद्बाट अनुमोदन नहुँदा ६० वर्षदेखि एउटै बीमा रकम कायम हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्