स्पर्स लघुवित्त दोस्रो वर्षमा



काठमाडौं, (नेस)
कास्कीको विजयपुरमा प्रधान कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्था स्थापनाको पहिलो वर्ष पँरा गरी शुक्रबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा संस्थाको केन्द्रीय कार्यालय र सञ्चालनमा रहेका १५ वटा शाखा कार्यालयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रम, वृद्धाश्रममा वद्धवृद्धालाई फलफूल तथा खाद्यान्न वितरण, बाटो तथा चोक सरसफाई, जस्ता कार्यक्रम गरी आफ्नो पहिलो वार्षिकोत्सव मनाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताउनुभयो ।

संस्थाले वार्षिकोत्सवका अवसरमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको छ । संस्थाको केन्द्रीय कार्यालयको प्राङ्गण विजयपुरबाट सुरु गरिएको र बुढीबजार परिक्रमा गरी पुन कार्यालयको प्राङ्गणमा आई समापन गरिएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, वित्तीय संस्थाका ग्राहक सदस्यहरु तथा वित्तीय संस्थाका कर्मचारीहरु गरी करिब २०० जनाको उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रमको समापन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय साक्षरता माथि प्रकाश पार्दै हाल नेपालमा अझै पनि करिब ६० प्रतिशत जनताले वित्तीय पहुँच नपाईरहेको अवस्थामा यस किसिमका कार्यक्रमहरु दुरदराजमा पु¥याउनुपर्ने बताउनुभयो ।

जनता बैंक नेपाल, मेगा बैंक नेपाल तथा विभिन्न ७५ जना व्यवसायी तथा समाजसेवी व्यक्तिबाट प्रवद्र्धन गरिएको यस वित्तीय संस्थाले प्रथम वर्षको अवधिमा आफ्ना १५ वटा शाखा कार्यालय स्थापना गरी करिव ८६०० सदस्यहरुलाई ३८ करोड २० लाख कर्जा लगानी गरेको छ र ५ करोड ९० लाख बचत संकलन गरेको छ । साथै वित्तीय संस्थाले आउँदो आर्थिक बर्षमा ५ वटा शाखा विस्तार गर्दै दुर्गम तथा ग्रामीण भेगका जनता माझ लघुवित्त बैंकिङ कार्यक्रम पु¥याउने योजना बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्