काठमाडौं ।
नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारीका लागि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीको नेतृत्व, चुनावी रणनीति र संगठनको भविष्यलाई लिएर बहस चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा, विष्ण्ॉ पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गरेको भेलामा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषय मुख्य चासोका रूपमा देखिएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबारदेखि सुरु भएको दुईदिने भेलामा देशभरबाट तीन हजार ४१४ जना प्रतिनिधि सहभागी छन् । स्थानीय निर्वाचनको तयारी, संगठन सुदृढीकरण र पार्टीभित्र एकरूपता कायम गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको एमालेले जनाएको छ । तर भेलाको औपचारिक उद्देश्य निर्वाचनको तयारी भए पनि पार्टीभित्र नेतृत्वप्रतिको असन्तुष्टि र आगामी राजनीतिक दिशा कस्तो हुने भन्ने प्रश्न पनि उत्तिकै पेचिलो बनेको छ ।
गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले बेहोरेको पराजयपछि एमालेभित्र नेतृत्वको कार्यशैली र चुनावी रणनीतिबारे प्रश्न उठ्दै आएको छ । आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पनि पार्टी अध्यक्ष ओलीकै अनुहारलाई अगाडि सारेर चुनावमा जाने हो भने पार्टीले थप लज्जास्पद पराजय बेहोर्नुपर्ने कार्यकर्ताको एउटा तप्काको बुझाइ छ ।
भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टीलाई निर्वाचनमा सफल बनाउन नेतृत्वको विकल्प खोज्नुपर्ने आवाज उठाइरहेका छन् । उनीहरूको तर्कमा पार्टीको संगठन कमजोर हुनु, जनतामा पार्टीप्रतिको आकर्षण घट्नु र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्नुका कारण आगामी निर्वाचनमा पुरानै शैलीले सफलता हासिल गर्न कठिन हुनेछ ।
विशेषगरी ओलीको व्यक्तिगत अहंकार र पार्टी सञ्चालनमा देखिएको एकलौटी प्रवृत्तिले संगठनलाई थप कमजोर बनाएको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ । स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै नेतृत्व परिवर्तन वा नेतृत्वको कार्यशैलीमा आमूल सुधार गर्नुपर्ने उनीहरूको माग छ ।
पाँच शीर्ष नेताका पाँच फरक कार्यपत्र
भेलामा अध्यक्ष ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो । वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक परिस्थिति र पार्टीको कार्यभार, उपाध्यक्ष रामबहादुर थापाले कम्युनिस्ट आन्दोलन र संसदीय संघर्ष, उपाध्यक्ष विष्ण्ॉ पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामको विवरण तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका बनाइएको थियो ।
पाँच शीर्ष नेताका कार्यपत्रले पार्टीको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे फरक–फरक दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष ओलीले पार्टीको राजनीतिक दिशा र आगामी कार्यभारलाई प्राथमिकतामा राख्दा विद्या भण्डारीले राष्ट्रिय परिस्थिति र पार्टीको जिम्मेवारीबारे धारणा राख्ने कार्यक्रम छ । त्यस्तै, रामबहादुर थापाको कार्यपत्रमा कम्युनिस्ट आन्दोलनको अवस्था र संसदीय राजनीतिका चुनौती समेटिने अपेक्षा गरिएको छ ।
विष्ण्ॉ पौडेलले एमाले नेतृत्वमा भएका विकास निर्माणका कामको विवरण प्रस्तुत गर्ने र महासचिव पोखरेलले पार्टीभित्रको शुद्धीकरण तथा संगठन सुदृढीकरणको विषय उठाउने कार्यतालिका छ । यी विषयले एमालेले आगामी दिनमा आफूलाई कुन राजनीतिक आधारमा जनतामाझ लैजान चाहेको छ भन्ने संकेत गर्नेछन् ।
तर कार्यकर्ताले उठाइरहेको मूल प्रश्न भने नेतृत्वको मूल्यांकन र निर्वाचनमा पार्टीको अनुहार कसलाई बनाउने भन्ने रहेको छ । पार्टीले विगतका उपलब्धि मात्रै प्रस्तुत गरेर जनताको विश्वास पुन: प्राप्त गर्न नसकिने उनीहरूको तर्क छ ।
विद्या भण्डारीको भूमिकामाथि पनि चासो
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा पुन: सक्रिय भूमिकालाई पनि भेलामा चासोका साथ हेरिएको छ । एमालेले उहाँलाई अध्यक्षपछिको वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । पार्टीभित्र ओलीको नेतृत्वशैलीप्रति असन्तुष्टि व्यक्त भइरहेका बेला भण्डारीको राजनीतिक भूमिका र भावी सक्रियता अर्थपूर्ण मानिएको छ ।
एमालेभित्र नेतृत्वको विकल्पबारे बहस भइरहेका बेला भण्डारीले पार्टीको समसामयिक अवस्था र भावी कार्यभारबारे कस्तो दृष्टिकोण प्रस्तुत गर्नुहुन्छ भन्ने विषयले पनि राजनीतिक महत्व पाएको छ । एमालेको राष्ट्रिय भेलाले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई एउटै ठाउँमा जम्मा गरेर निर्वाचनको तयारीमा परिचालन गर्ने लक्ष्य राखेको छ । तर पार्टीको समस्या केवल संगठन परिचालनको मात्र नभई नेतृत्वप्रतिको विश्वास र राजनीतिक छविसँग पनि जोडिएको छ ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने र पार्टीले गर्नुपर्ने १५ वटा कामबारे छलफल गरिनेछ । पार्टीले अन्तरसंघर्षलाई तत्काल थाती राखेर स्थानीय तथा प्रदेश निर्वाचनमा केन्द्रित हुने रणनीति बनाएको देखिन्छ ।
अर्कोतर्फ, भेलाको कार्यक्रम तालिकामा स्थानीय तहबाट आएका प्रतिनिधिलाई खुला रूपमा आफ्ना धारणा राख्ने पर्याप्त अवसर नरहेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । शीर्ष नेताले कार्यपत्र प्रस्तुत गर्ने तर तल्लो तहका कार्यकर्ताको सुझाव र आलोचनाले निर्णय प्रक्रियामा कति स्थान पाउँछ भन्ने विषयले भेलाको प्रभावकारिता निर्धारण गर्नेछ । दुईदिने राष्ट्रिय भेलाले संगठन परिचालनको सन्देश दिन सक्छ । तर पार्टीले आगामी निर्वाचनमा कस्तो नेतृत्व, कस्तो राजनीतिक एजेन्डा र कस्तो चुनावी अनुहार प्रस्तुत गर्छ भन्ने कुराले नै एमालेको भविष्यको दिशा निर्धारण गर्नेछ ।
कम्युनिस्ट आन्दोलनका पुराना नेतादेखि नयाँ पुस्तासम्मको उपस्थिति
नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीका वर्तमान शीर्ष नेतासँगै नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता तथा ऐतिहासिक व्यक्तित्वहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ ।
भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्ण्ॉ पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू सहभागी भएका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका भाइ विजयलाल श्रेष्ठ, पुराना कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारी तथा जननेता जीवराज आश्रितकी पत्नी माया ज्ञवालीसहितका व्यक्तित्वहरूको उपस्थितिले भेलालाई थप अर्थपूर्ण बनाएको छ ।
पार्टीको इतिहास, संघर्ष र योगदानसँग जोडिएका पुराना नेताहरूको सहभागितालाई एमालेले आफ्नो ऐतिहासिक विरासतसँग जोडेर हेरेको छ ।
कम्युनिस्ट आन्दोलनको प्रारम्भिक चरणदेखि विभिन्न राजनीतिक संघर्षमा योगदान पुर्याएका व्यक्तित्वहरूको उपस्थितिले नयाँ पुस्ताका नेता तथा कार्यकर्तालाई पार्टीको इतिहास र संघर्ष सम्झाउने अवसरसमेत बनेको छ । अहिले एमालेभित्र नेतृत्व, कार्यशैली र आगामी निर्वाचनको रणनीतिलाई लिएर बहस चलिरहेका बेला पुराना कम्युनिस्ट नेताहरूको सहभागितालाई पनि चासोका साथ हेरिएको छ । विशेषगरी आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि पार्टीलाई एकताबद्ध बनाउने, संगठन सुदृढ गर्ने र पुरानो राजनीतिक विरासतलाई पुन: स्थापित गर्ने चुनौती एमालेसामु छ ।
राष्ट्रिय कार्यकर्ता भेलामा पुराना पुस्तादेखि नयाँ पुस्तासम्मको सहभागिताले एमालेले आफ्नो ऐतिहासिक पहिचान र भावी राजनीतिक दिशाबीच समन्वय खोज्नुपर्ने सन्देश दिएको छ ।








तपाईंको विचार लेख्नुहोस्