नक्कली टिकट बनाउनेविरुद्ध जरिवाना



कृष्णउदास खनाल, वीरगन्ज
मदिराको बोतलमा प्रयोग हुने नक्कली अन्तः शुल्क टिकट प्रकरणमा आन्तरिक राजस्व कार्यालय पर्साले आठ जनालाई कैद र ५४ करोड रुपियाँभन्दा बढी जरिवाना तोकेको छ।

आन्तरिक राजस्व कार्यालयले मात्र कारोबार गर्ने मदिराको स्टिकर नक्कली छपाई ओसारपसार गर्दै गरेको फेला पारेपछि झण्डै एक वर्ष अनुसन्धान गरी दोषी ठहर भएका आठ जनालाई एकवर्ष कैद र ५४ करोड २९ लाख ६० हजार ९२८ रुपियाँ जरिवाना तोकेको हो।

आन्तरिक राजस्व कार्यालय पर्साले १० महिना १० दिनसम्म अनुसन्धान गरी १३ जना अभियोगीमध्ये आठजना दोषी ठहर गरेको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताउनुभयो। मदिराको नक्कली स्टिकर प्रकरणमा १० महिना १० दिन लामो अनुसन्धान गरेको उहाँको तर्क छ। दोषी ठहर भएकालाई अन्तःशुल्क ऐन २०५८ को दफा १६ ९१० को खण्ड (घ) बमोजिम जनही ३ करोड ३९ लाख ३५ हजार ५८ रुपियाँ बिगो र बिगो बराबरको जरिवाना र १ वर्ष कैद सजाय तोकिएको छ,’ उहाँले भन्नुभयो।

बिगो र बिगो बराबरको जरिवाना गर्दा एक व्यक्तिको हकमा कुल ६ करोड ७८ लाख ७० हजार ११६ रुपियाँ परेको राजस्व कार्यालय वीरगन्जले जनाएको हो। मदिराको नक्कली स्टिकर छपाउने र ओसारपसार गराउने मुख्य योजनाकार हरियाणा भारत घर भई काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने वर्ष ५२ का विनोदकुमार गुप्ता, उनकी श्रीमती बारा कलैया ६ स्थायी घर भई हाल काठमाडौं १४ कुलेश्वर बस्ने हिमालयन कार्गोका प्रोप्राइटर मधुकुमारी चौधरी, कार्गो साहु साहुनी गुप्ता र चौधरीका छोरा राहुल गुप्ता र विनोद गुप्ताका भाइ भारतमा दर्ता रहेको सनसाइन कार्गाेका मालिक सतिस गुप्ता रहेको आन्तरिक राजस्व कार्यालय पर्साको तथ्यांकमा उल्लेख गरिएको छ।

उनीहरू चारैजना अहिलेसम्म फरार छन् । दोषीहरूबाट २५ युपी शक्ति मदिराको १८० एमएलको बोतलमा प्रयोग हुने नक्कली अन्तःशुल्क टिकट ८६ हजार ७४० थान गएको भदौ १८ गते वीरगन्ज भंसारमा जाँच पासका क्रममा बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्