इन्धन ट्यांकरहरुमा सेक्युरिटी लकिङ सिस्टम लागू



नेपाल समाचारपत्र, विराटनगर
नेपाल आयल निगम प्रदेश नम्बर १ कार्यालयले भारतबाट इन्धन ओसार्ने ट्यांकरहरुमा सेक्युरिटी लकिङ सिस्टम लागँ गरेको छ । निगमको प्रदेश कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच लकिङ सिस्टम प्रणालीको उदघाटन गरिएको हो ।

इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमका पदाधिकारीको उपस्थितिमा लकिङ सिस्टम प्रणाली लागँ गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भारतको बरौनीबाट लक गरी ल्याइएको ट्यांकरको ताल्चा खोल्दै सुरक्षात्मक लकिङ प्रणालीको शुरुआत गर्नुभयो । उद्घाटन समारोहमा निगमका कार्यकारी निर्देशक भट्टराईले आधुनिक लक सिस्टम कुनै पनि हालतमा सफल हुने बताउनुभयो । भट्टराईले लक सिस्टम लागँ गर्ने विषयमा छलफल गर्दा यसअघि अवरोध भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रदेश कार्यालयले इण्डियन आयल कर्पोरेशनको सिलीगुडी र बरौनी डिपोबाट ट्यांकरमार्फत इन्धन आयात गर्दै आएको छ । सो क्रममा इन्धन चुहावट हुने गरेको थियो । सेक्युरिटी लकिङ सिस्टम लागँ भएपछि भारतमा इन्धन लोड गर्ने ठाउँमै ट्यांकरहरुमा तला लगाइने र सो ताला नेपालस्थित नेपाल आयल निगमको डिपोमै खोल्ने गरी व्यवस्थापन गरिएको छ ।

ढुवानीको क्रममा हुने इन्धन चोरी र मिसाबटको क्रम रोकिने निगमका प्रदेश कार्यालय प्रमुख भानुभक्त खनालले बताउनुभयो । क्षेत्रीय डिपो विराटनगरकालागि ३ सय ५० ट्यांकरहरुले इन्धन ओसार्ने गरेका छन् । निगमको प्रदेश कार्यालयले भारतको बरौनीबाट ९० प्रतिशत इन्धन आयात गर्ने गरेको छ । क्षेत्रीय डिपोमा वार्षिक २ लाख ४० हजार केएल डिजल र ६६ हजार केएल पेट्रोल आयात गर्ने गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्