पशुपतिनगर भन्सारको राजस्व ५५ लाख घट्यो



गणेश घिमिरे, इलाम
तीन महिनासम्म भारतको दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनको प्रत्यक्ष प्रभावले इलाम पशुपतिनगरको राजस्व संकलनमा परेको छ ।

पूर्वी नेपालको सिमावर्ती दार्जिलिङमा गएको साउन, भदौ र असोजमा गोर्खाल्यान्डको माग गर्दै आन्दोलन चर्किदा इलाम पशुपतिनगर भन्सार कार्यालयमा राजस्व संकलन ठप्प हुँदा गत आर्थिक वर्षमा भन्दा चालँ आवमा ५५ लाख ८७ हजार २ सय ३९ रुपियाँले राजस्व संकलनमा गिरावट आएको छ ।

गत आर्थिक वर्षमा एक करोड ३८ लाख ८१ हजार ४ सय ४३ रुपियाँ राजस्व संकलन भए पनि चालँ आव सकिनै लाग्दा ८२ लाख ९४ हजार २ सय ४ रुपियाँ मात्र राजस्व संकलन भएको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका नायब सुव्बा अच्युत ढकालले राजस्व घट्नुमा पहिलो कारण दार्जिलिङमा तीन महिनासम्म चलेको गोर्खाल्यान्ड आन्दोलन प्रमुख रहेको बताउनुभयो ।

‘उता आन्दोलन भएपछि भारतीय सामग्री आयात ठप्प भयो,’ उहाँले भन्नुभयोे –‘गाडीको अस्थायी पैठारी नै बन्द हुँदा राजस्व अत्यन्त धेरै घट्न पुग्यो ।’ पशुपतिनगर भन्सार कार्यालयमा सबैभन्दा बढी राजस्व संकलन गाडीको अस्थायी पैठारीबाटै हुँदै आएको छ ।

यस्तै बिगत १० महिनादेखि भन्सार कार्यालय प्रमुखविहीन हुँदा पनि राजस्व संकलनमा प्रत्यक्ष असर पुगेको ढकालको भनाइ छ । ‘भन्सारमा आएका मुद्दा प्रमुख हुँदा चाँडो छिनोफानो हुन्थ्यो र राजस्व संकलन बढ्न सक्थ्यो, तर अहिले प्रमुख नभएकै कारण भन्सारमा आएका मुद्दा छिनोफानो गर्न मेची भन्सार कार्यालय झापा लिएर जानुपर्ने बाध्यता रहेको छ,’ उहाँले भन्नुभयो । भन्सारमा यो वर्ष जम्मा २७ वटा मुद्दा दर्ता भएका छन् ।

तर, चार÷पाँचवटा मुद्दा बाहेक एउटा पनि फैसला भएको छैन । यसले पनि राजस्व संकलनमा गिरावट आएकोे छ ।

गएको साउनमा भन्सार प्रमुख प्रकाश पोखरेल सरुवा भएर गएपछि हालसम्म प्रमुखको दरबन्दी खाली रहेको छ । कार्यालयले चालँ आर्थिक वर्षमा १ करोड ७४ लाख ७८ हजार रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, दार्जिलिङमा चर्केको आन्दोलन, कार्यालय प्रमुख विहीन हुनु लगायतका कारण लक्ष्यभन्दा ९१ लाख ९४ हजार रुपियाँ कम राजस्व संकलन भएको भन्सार कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्