इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको एक अदालतले सत्ताच्युत गरिएका पुर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मामिलामा शुक्रबार १० बर्षको कारावासको सजायँ सुनाएको छ । सरिफकी छोरी मरियमलाई पनि ७ बर्षको सजायँ सुनाइएको छ ।
अदालतले फैसलामा नवाज र मरियममाथि ८० लाख पाउन्ड र २० लाख पाउन्डको जरिवाना पनि तोकेकोछ । अदालतका न्यायधिष मोहम्मद बसिरले नवाजका ज्वाई अवकाश प्राप्त क्याप्टेन सफदरलाई पनि १ बर्षको जेल सजायँ तोकेको छ ।
नवाज सरिपले विहिबार मात्रै आफनी पत्नी कुलसुम नवाजको स्वास्थ्य स्थितिको जानकारी गराउँदै मुद्दाको फैसला सात दिन सार्न अपिल गरेका थिए । न्यायधिषले सरिफको अपिल खारेज गर्दै एवनफिल्ड भ्रष्टाचार मुद्दाको सजायँ सुनाएका थिए । एवनफिल्ड अपार्टमेन्ट सरिफको लन्डन स्थित भवन हो । नवाज र उनकी छोरी मरियम हाल लन्डनमा छन् । त्यहाँ कुलसुम नवाजको क्यान्सर उपचार भइरहेको छ ।
अदालतको फैसला आएपछि नवाज सरिफका भाइ, पन्जाबका पुर्व मुख्यमन्त्री शाहबाज सरिफले एक पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले भने– हामी न्यायका लागि सबै कानुनी र संवैधानिक मार्ग चयन गर्नेछौंं । नवाज सरिफले सँधै बहादुरी पुर्वक लडेका छन् ।
अदालतबाट पेशीबाट छुट दिएपछि नवाज सरिफ जुन १४ मा लन्डन प्रस्थान गरेका थिए । कुलसुमको स्वास्थ्य स्थिति अवगत गराउँदै सरिफले जुन १९ मा पेसीबाट छुट दिन अपिल गरेका थिए । उनलाई जुन २३ देखि पेसीबाट छुट दिइएको थियो । त्यसपछि सोही प्रकृतिको अपिल जुन २५ मा दिएका थिए र उनलाई तीन दिनको समय दिइएको थियो ।
सरिफका वकिलले त्यसपछि पनि जुलाइ २ देखि ९ सम्म पेसी छुटका लागि अपिल दायर गरेका थिए । यसलाई अदालतले खारेज गरेको थियो । नवाज र उनकी छोरीलाई जुन २७ मै पाकिस्तान फर्कनु थियो, तर उनीहरु अहिले पनि लन्डनमा छन् ।
नवाज र उनका परिवार विरुद्ध नेसनल अकाउन्टेबिलिटी ब्युरोले भ्रष्टाचारका तीन मुद्दा दायर गरेको थियो । यसमा एवनफिल्ड प्रोपर्टिज, गल्प स्टिल मिल्स र अल अजिज स्टिल मिल्ससँग जोडिएका मुद्दा समावेश छन् । नवाज परिवार विरुद्ध गत बर्ष सेप्टेम्बर १४ देखि सुनुवाइ चलिरहेको थियो ।











प्रतिक्रिया