कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए



किन्सासा

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण रोकिएको छैन । दुई महिनादेखि यहाँ सङ्क्रमण शुरु भएको र सङ्क्रमितहरूको सङ्ख्या झनै बढेको बताइएको छ ।

यहाँ गत महिना ४५ जनालाई इबोलाको सङ्क्रमण देखिएको थियो । यसको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन समेतले प्रयास थालेको बताएको थियो ।

तर त्यसमा कमी भने आएको छैन । समाचारमा जनाइएअनुसार गएको शनिबारसम्म यहाँका ६० जनामा यसको सङ्क्रमण देखिएको छ ।

सो सङ्क्रमणको आशङ्का गरिएका सबैमा यो भाइरसको पुष्टि भएको बताइएको छ । कङ्गोको स्वाथ्य मन्त्रालयले गत शनिबार अबेर राति प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

देशको उत्तरपश्चिमी प्रान्त बिकोरोमा इबोलाको सङ्क्रमणको कारण केहीको मृत्यु भएको पनि पुष्टि भएको अधिकारीहरूले जनाएका थिए ।

इक्वेटेउर प्रान्तको बिकोरोे शहरमा यस भाइरसको सङ्क्रमण देखिएको हो । यस प्रान्तका केही ग्रामीण वस्तीमा इबोलाका सङ्क्रमित देखिएका थिए ।

सो प्रान्तका अतिरिक्त कङ्गोमा करिब एक महिनाअघि सम्ममा यस सङ्क्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए ।

कङ्गोमा पुनः देखिएको इबोला सङ्क्रमणप्रति विश्व स्वास्थ्य संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ । यस सङ्क्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको हो ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सबैसँग सहयोगको याचना पनि गरेको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी देशहरूमा देखिएको इबोलाको भीषण माहामारीले ११ हजार भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।

यसको औषधि पत्ता लागेको बताइए पनि औषधिको प्रभावकारिता भने त्यति सकारात्मक नदेखिएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।  रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्