मानवअधिकार परिषदबाट बाहिरियो अमेरिका

0
Shares

काठमाडाैं । अमेरिकाले संयुक्त राष्ट्रस‌ंघ मानव अधिकार परिषदबाट बाहिरिएको घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रका लागि अमेरिकी दूत निकी हेलीले साझा प्रेस वार्तामा यसबारे घोषणा गरेका हुन्। परिषद्का प्रमुख जेद बिन राद अल हुसेनले अमेरिकाले मानवाधिकारको रक्षाबाट बाहिरिन नहुने धारणा राखेका छन्।

‘एक तथाकथित मानवाधिकार काउन्सिल भेनेजुएला र इरानमा भइरहेको मानवाधिकारको उल्लंघनबारे केही बोल्न सक्दैन र कंगोजस्तो देशलाई नयाँ सदस्यको रूपमा स्वागत गर्छ भने यसले अब मानवाधिकार परिषद् भनिने अधिकार गुमाएको छ।’ राजदूत निकी हेलीले भनिन् ‘वास्तवमा यस्ता संस्थाले मानवा अधिकारलाई क्षति पुर्‍याउँछन्।’ ‘यो राजनीतिक पक्षपातसँग प्रेरित छ’, उनले भनिन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि काउन्सिलबाट बाहिरिनुको अर्थ हामी मानवाधिकारप्रतिको जिम्मेवारीबाट पन्छिन खोजेका होइनौँ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि युएनएचआरसीको उद्देश्यमाथि प्रश्न उठाउँदै यसले आफ्नो विचारलाई कायम राख्न असफल भएको आरोप लगाएका छन्। ‘कुनै बेला यूएनएचआरसीको उद्देश्य उत्कृष्ट थियो भन्ने कुरामा शंका छैन। तर आज यसले मानवाधिकारको बलियोसँग रक्षा गर्न सकिरहेको छैन’, उनले भने, ‘योभन्दा खराब त काउन्सिलले अहिले निर्लज्ज र पाखण्डसहित संसारको विभिन्न हिस्सामा भइरहेको मानवाधिकारको उल्लंघनलाई नजरअन्दाज गरिरहेको छ।’

पोम्पियोका अनुसार मानवाधिकारको उल्लंघनको सबैभन्दा गम्भीर आरोप लागेका देशसमेत यसका सदस्य छन्। प्रवासी बालबालिकालाई आमा–बुबाबाट अलग्गाएका कारण ट्रम्प प्रशासनको अत्यधिक आलोचना भइरहेका बेला अमेरिकाको यस्तो निर्णय सार्वजनिक भएको हो। यसअघि ह्युमन राइट्स वाच नामको मानवाधिकार समूहले डोनल्ड ट्रम्पको नीतिलाई ‘एकतर्फी’ भन्दै यसको आलोचना गरेको थियो।

Skip This