साउदीमा महिलालाई पनि ड्राइभिङ लाइसेन्स ⁄

0
Shares

रियाद, (एजेन्सी)
दसकौंपछि पहिलोपटक मंगलबार साउदी अरेबियाले महिलालाई ड्राइभिङ लाइसेन्स वितरण गरेको छ। केही साताअघि मात्र महिलामाथि लगाइएको सवारीसाधन चलाउने प्रतिबन्ध हटाइएको थियो।

१० जना महिलाले साउदी अरेबियाका विभिन्न शहरमा आफ्नो विदेशी ड्राइभिङ लाइसेन्स साउदी लाइसेन्ससँग साटेको सरकारी अधिकारीहरूले बताएका छन्। तर, साउदी महिला अधिकारवादी समूहहरूले भने अहिले पनि थुप्रै स्थानमा सवारीसाधन चलाएकै कारण महिलालाई गिरफ्तार गरिँदै गरेको भन्दै सरकारको आलोचना गरेका छन्।

सरकारी निर्णयअनुसार २४ जुनमा औपचारिकरूपमा प्रतिबन्धको अन्त्य हुन लागेकाले ड्राइभिङ लाइसेन्सका लागि महिलाको भीडै उर्लिने सरकारको अनुमान रहेको छ।

साउदी अरेबियाको इस्लामिक कानुनअनुसार महिलाले विभिन्न काम र निर्णयका लागि पुरुषसँग अनुमति लिनुपर्दछ। जसले गर्दा महिला आफन्तहरूलाई सवारीसाधनबाट ओसारप्रसार गर्न निजी ड्राइभर भाडामा लिनुपर्ने हुन्थ्यो।

सवारी चलाउने अनुमति प्राप्त गर्नका लागि साउदीमा महिला अधिकारवादी समूहहरूले लामो समयदेखि अभियान चलाउँदै आएका थिए। सो प्रतिबन्ध तोडेबापत थुप्रै महिला जेल चलान पनि भएका थिए। गत महिना विदेशी शक्तिसँग मिलेर काम गरिरहेको तथा राष्ट्रघातीको अभियोग लगाउँदै थुप्रै पुरुष तथा महिला अभियन्तालाई पक्राउ गरिएको थियो।

त्यसरी पक्राउ पर्ने महिलाहरूले सावारीसाधन चलाउन पाउनुपर्ने आवाज उठाउँदै ैआएकी प्रमुख अभियन्ता लोजाइन अल हाथलोलुल पनि रहेकी छिन्। उक्त पक्राउको अधिकारवादी समूह एमनेस्टी इन्टरनेसनलले कडा आलोचना गरेको थियो।