गुरु रामदेवको च्याट एप बन्द !



नयाँदिल्ली, (एजेन्सी)
भारतीय योगा गुरु रामदेवले शुरू गरेको ‘व्हाट्सएप किलर’ नामक च्याट एप सुरक्षा सम्बन्धी विवादका कारण एप स्टोरबाट हटाइएको छ। बाबा रामदेवले पतञ्जलीले बिहीबार अन्य च्याट एप्ससंग प्रतिस्पर्धा गराउन भन्दै घरेलु निर्मित सो एप शुरू गरेको थियो। तर त्यसलाई शुरू गरिएको केही समयपछि नै विशेषज्ञहरूले युजर डाटासम्म सजिलै पुग्न सकिने भएकाले सो एप सुरक्षित नभएको गुनासो गरेका थिए। तर पतञ्जलीले बीबीसीलाई भनेको छ– ‘हाम्रो एपको कुनै त्रुटि छैन, प्रारम्भिक जनचासो बुझ्नका लागि एक दिनका लागि यसलाई चलाएको हौं।’

हामीले चाँडै नै फेरि यो एप सञ्चालनमा ल्याउने भएका छौं। साथै हामीले भारत विश्वको प्रविधिमा सबैभन्दा अगाडि छ भनी देखाउनेछौं।’ रामदेवले यस एपमार्फत पहिलोचोटि प्रविधि क्षेत्रमा प्रयास गरेका हुन्।

उनको पतञ्जलीले यसअघि नै स्याम्पु, दाल चामलदेखि स्किन क्रिम र तयारी चाउचाउलगायत थुप्रै उत्पादन बजारमा लयाइसकेको छ। तर इलिलयट एल्डर्सन भन्ने छ्दम नाममा ट्विट गर्दै एकजना साइबर सुरक्षा अनुसन्धानकर्ताले पतञ्जलीले यो एप ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन्। आगामी जुन सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या ५० करोड पुग्न लागेको भारतमा च्याट एपको ठूलो बजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्