तालिवान र अफगान अधिकारीहरुबीच गोप्य वार्ता: अमेरिका



काबुल, (एजेन्सी)
तालिवान लडाकूहरुले युद्ध विरामबारे छलफल गर्न वरिष्ठ अफगान अधिकारीहरुसँग गोप्य भेटघाट गरिरहेको अमेरिकी सेनाले बिहीबार जनाएको छ। अफगानिस्तान स्थित अमेरिकी सैनिक कमान्डर जनरल जोह्न निकोल्सनले ती वार्तामा विदेशी सरकारहरु र अन्तर्राष्ट्रिय संघसंस्थाहरुको पनि सहभागिता रहेको तत्य सार्वजनिक गरेका छन् ।

अफगान राष्ट्रपति असरफ घानीले गत फेब्रुअरीमा तालिवानसंग शान्ति वार्ताका लागि प्रस्ताव राखेका थिए। तर तालिवानले त्यसप्रति कुनै पनि प्रतिक्रिया जनाएको थिएन । विगतमा प्रायशः तालिवानले अफगान सरकारको वार्ता प्रस्ताव अस्वीकार गर्ने गरेको थियो ।

केही महिना यता भिडन्त चर्किन थालेपछि दुवै पक्षमा धेरै संख्यामा हताहत भइसकेका छन् । बुधबार तालिवान लडाकूहरुले राजधानी काबुलस्थित गृह मन्त्रालयमा आक्रमण गरेका थिए ।

तिनीहरुले यस आक्रमणबाट आफूहरुसँग राजधानीमा समेत धावा बोल्ने क्षमता रहेको प्रमाणित गर्न खोजेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । साथै तालिवान लडाकूहरुले लागो प्रान्तको राजधानीस्थित प्रहरी चौकीमा पनि आक्रमण गरेको दावी गरेका छन् । यसैबीच अमेरिकी फौजले हेल्मान्ड प्रान्तमा भएको तालिवान लक्षित हमलामा ५० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको हिजो पुष्टि गरेको छ । जनरल निकोल्सनले विगत ५० वर्षदेखि गृहयुद्ध चल्दै आएको कोलम्बियामा अन्ततः शान्ति सम्झौता भएको घटनालाई तुलना गर्दै हिंसा र प्रगतिसंगै अस्तित्वमा रहन सक्ने प्रतिक्रिया दिएका छन् ।

उनले हाल चलिरहेको गोप्य वार्तामा सरिक व्यक्तिहरुको परिचय नखुलाए पनि त्यसमा मध्यमदेखि वरिष्ठ स्तरका तालिवान अधिकारीहरु संलग्न रहेको संकेत दिएका छन् । फेब्रुअरीमा घानीले वार्ताको प्रस्ताव अघि सार्दा तालिवानले युद्ध विराम स्वीकार्दै राष्ट्रको संविधानलाई पनि मान्यता दिएको खण्डमा तालिवानलाई पनि राजनीतिक पार्टीको मान्यता दिइने शर्त राखेका थिए ।


विगतमा तालिवानले अमेरिकासँग मात्र वार्ता हुनसक्ने अडान लिँदै आएको थियो । तालिवानले विभाजित अवस्थामा र कमजोर रहेको अफगान सरकारले ठूलाठूला विषयमा निर्णय दिन सक्दैन भन्ने गरेको थियो ।

साथै तिनीहरुको अफगानिस्तानबाट सम्पूर्ण अमेरिकी र उत्तर एटलान्टिक सन्धि संगठन ( नेटो) फौज फर्काउनु पर्ने, आफ्ना वन्दिहरु रिहा गरिनुपर्ने तथा तालिवान अधिकारीहरुलाई नाकाबन्दीको सूचीबाट हटाइनुपर्ने माग रहेका छन्। तर अर्कोतिर अमेरिकाको भने तालिवानले अफगान सरकारसंगै वार्ता गर्नुपर्ने अडान रहेको छ । अमेरिकी अधिकारीहरुका अनुसार अफगानिस्तानको युद्ध अफगानिस्तानकै दुई पक्षबीचको हो। गत जनवरीमा सार्वजनिक भएको बीबीसीको अनुसन्धानअनुसार सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छोडे यता त्यहँँको अधिकांश भू–भाग तालिवानको कब्जामा गएको छ ।

प्रतिक्रिया दिनुहोस्