किम–ट्रम्प वार्ता तयारी, अमेरिकी प्रतिनिधिमण्डल र उत्तरकोरियाली अधिकारीबीच वार्ता



सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर बैठक गराउने प्रयासका क्रममा अमेरिकाका एक प्रतिनिधिमण्डल उत्तर कोरियाका अधिकारीहरुसँग वार्ता गरिरहेका छन् ।

दुई नेताबीचको प्रस्तावित वार्ताको तयारीका सम्बन्धमा छलफलका लागि अमेरिकाको एक विशेष प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको बताइएको छ । उनीहरूबीच वार्ता पानमुनजोम गाउमा भइरहेको छ । उक्त इलाका उत्तर र दक्षिण कोरिया सिमानामा रहेको असैनिकृत क्षेत्र हो ।

यसअघि उत्तर कोरियाकको सरकारी सञ्चारमाध्यमले देशका सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ट्रम्पसँग जुन १२ मा हुने भनिएको वार्तालाई लिएर प्रतिबद्ध रहेको उल्लेख गरेकोछ । यसअघि शनिबार अचानक किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनबीच भेटवार्ता भएको थियो । दुई कोरियाली नेताबीचको दोस्रो भेटवार्ता थियो ।

शनिबार डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ता राम्रो दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै वार्ताको प्रयास शान्ति र विकासतर्फ बढ्नेमा अपेक्षा गरेको ट्विट गरेका थिए । अर्को एक ट्विटमा उनले यदि भेटवार्ता भएमा जुन १२ मा सिंगापुरमै हुने र आवश्यक भएमा तिथि सार्न सकिने जनाएको छ । यसअघि राष्ट्रपति ट्रम्पले जुन १२ मा किमसँग हुने प्रस्तावित भेटवार्ता रद्द गरेका थिए । उनले उक्त शिखर बैठक रद्द गर्नुको कारण शत्रुतापूर्ण व्यवहार भएको बताएका थिए ।

यसैबीच वार्ताको तयारीलाई अगाडि बढाउन अमेरिकी प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेका छन् । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण कोरियाका लागि अमेरिकाका पूर्वराजदूत सुङ किमले गरिरहेका छन् । उत्तर कोरियाली तथा अमेरिकी सञ्चार माध्यमका अनुसार उक्त प्रतिनिधिमण्डल प्रस्तावित बैठकको तयारीका बारेमा उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइसँग वार्ता गर्नेछ ।

दुई पक्षबीच परमाणु निशस्त्रीकरणको सम्झौताका बारेमा विस्तृत चर्चा हुने अनुमान गरिएको छ । किम र ट्रम्पबीच जुनको प्रस्तावित वार्तामा यस विषयमा चर्चा हुनेछ । शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमबीच दास्रो वार्तामा परमाणु निशस्त्रीकरणको वार्ता रोकिनुनहुनेमा सहमति भएको थियो । उनीहरूबीचको उक्त आकस्मिक वार्ता एक फोनकलपछि तयार भएको थियो । उक्त वार्ताका लागि किम आफैले फोन गरेका थिए । यसले किम ट्रम्पसँगको वार्ताका लागि गम्भीर रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्