सिरियामा इरानी सैन्यस्थलमाथि इजरायली हवाई कारबाही, गोलान हाइटमा इरानद्वारा क्षेप्यास्त्र प्रहार



तेल अभिव, (एजेन्सी)
इजरायली सेनाले सिरियास्थित इराकाका प्रायः सबै सैन्य अड्डामा रातभरि हवाई आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री एविग्डोर लिबरम्यानले बिहीबार यसको जानकारी दिएको हो। यसअघि इजरालले आफ्ना सैन्य ठेगानामा रकेट तथा क्षेप्यास्त्र प्रहारका लागि इरानलाई जिम्मेवार ठह¥याएको थियो।

लिबरम्यानले एक सुरक्षा सम्मेलनमा भने– ‘हामीले सिरयामा इरानका करिब सबै स्थानमा हमला गरेका छौं।’

यसैबीच इजरायली सेनाले पनि आक्रमणको जानकारी दिँदै भनेको छ– ‘हामीमाथि वर्षा हुन्छ भने उसमाथि आँधी आउँछ भन्ने उसले बुझ्नुपर्नेछ। हामीले यो प्रकरण अन्त्य गरेका छौं भन्ने मैले अपेक्षा गरेको छु र जसले पनि यसलाई बुझेको छ।’

हालैका वर्षमा इरानका ठेगानाविरुद्ध यो इजरायली सेनाको सबैभन्दा ठूलो अभियान भएको सेनाले बताए। यसअघि बुधबार राति गोलान हाइट्समा आफ्नो सेनामाथि सिरियातर्फबाट करिब २० रकेट प्रहार गरिएको इजरायलले जनाएको थियो।

उक्त हमलामा कोही पनि इजरायली नागरिक घाइते नभएको र त्यसपछि आफूले हमला गरेको इजरायलले बताए। लिबरम्यानले भने– ‘हामी तनाब बढाउन चाहँदैनौं तर हामीमाथि हमला गर्ने वा भविष्यमा हामीमाथि हमलाको ढाँचा तयार गर्नेलाई हामी छाड्दैनौं।’

इरानी रिभोलुसनरी गार्डसले गोलान हाइट्सस्थित इजरायली सैनिक अड्डामा रकेट प्रहार गरेको इजराली सेनाले बताएका थिए। इजराली सेनाले त्यसको जवाफमा आफूले सिरियामा इरानका हतियार भण्डारण, क्षेप्यास्त्र प्रक्षेपण केन्द्र तथा अन्य सैन्य ठेगानमा बमबारी गरेको बताए।
सिरियाको हवाई प्रतिरक्षा प्रणालीलाई पनि निसाना बनाइएको इजरायलले जनाएको छ। सिरियाली सञ्चार एजेन्सी सानाले इजरायलका केही क्षेप्यास्त्र इन्टरसेप्ट गरिएको जनाएको छ।


सानाका अनुसार दमास्कसको किस्वाह इलाकामा दुई क्षेप्यास्त्र खसालिएको र विस्फोटमा दुई नागरिकको मृत्यु भएको छ। तर बेलायतस्थित सिरियाली मानवअधिकार संस्थाले क्षेप्यास्त्र हतियार भण्डारण क्षेत्रमा खसेको र १५ सरकार समर्थित लडाकू मारिएको बताएको छ।

मारिनेमा इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्सका ८ सदस्य र अन्य कयौं गैरसरकारी सिरियाली नागरिक परेको संस्थाले जनाएको छ। इजरायलले सञ्चार माध्यमको दाबीमाथि कुनै टिप्पणी गरेको छैन र उसले सिरियामा इरानलाई पकड जमाउन नदिने दोहो¥याएको छ।

नेतान्याहु–पुटिन भेट
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार मस्कोमा विजय दिवस परेडका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको केही घण्टा नबित्दै इजरायली सेनाले सिरियास्थित दर्जनौं इरानी ठेगानामा भीषण हवाई युद्ध छेडेको थियो।

उक्त आक्रमण हुनुअगाडि नेतान्याहुले विज्ञप्तिमा राष्ट्रपति पुटिनले त्यसका लागि ग्रिन लाइट दिएको संकेत दिएका थिए। रुस छोड्ने क्रममा नेतान्याहुले भनेका थिए– ‘रुसी सेना र इजरायल प्रतिरक्षा बलबीच सैन्य समन्वय निरन्तरताको सुनिश्चिता आवश्यक रहेको छ।

सोही राति इजरायलको प्रतिरक्षा बलले रुसको मित्र सिरियामा रहेका प्रायः सबै इरानी सैन्य इलाकामा समन्वयात्मक भीषण आक्रमण गरेको थियो। इजरालयले सन् २०१२ पछि सिरियामा १ सय पटकभन्दा धेरै निसाना साधिसकेको स्विकारेको छ। आफ्नो सुरक्षालाई खतरा देखिएका कुनै पनि स्थानमा रहेका इरानी बल र सम्पत्तिमाथि आक्रमण जारी राख्ने इरानले जनाएको छ।

आईडीएफले सन् १९७३ को अरब–इजरायल युद्ध अन्त्य गर्ने सहमतिमा दुई देशले हस्ताक्षर गरेपछि सिरियाभित्र इजरायलले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको र यसमा ५० भन्दा धेरै इलाकालाई निसाना बनाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्