अनौठो ठगीमा बाबुछोरा पक्राउ



नयाँदिल्ली, (एजेन्सी)
भारतीय प्रहरीले एकजना व्यापारीलाई अमेरिकी अन्तरिक्ष निकाय नासामा काम गर्ने गरेको बताउँदै ठगी गर्न स्पेस सुट लगाएर परेड गर्ने एक जना र उनका छोरालाई गिरफ्तार गरेको छ। ती बाबुछोराले विशेष गुणहरुले परिपूर्ण भन्दै ती व्यापारीलाई २ लाख १३ हजार १ सय ५६ अमेरिकी डलरमा एउटा तामाको प्लेट बेच्न सफल भएको प्रहरीले जनाएको छ।

तिनीहरूले त्यति रकम लगानी गरिदिएको खण्डमा सो प्लेट आफूहरूले फाइदा आउने गरी नासामा बेचिदिने भनी विश्वस्त पारेका थिए। आफू ठगिएको महसुस गरी व्यापारीले प्रहरीमा उजुरी गरेपछि तिनीहरू पक्राउमा परेका हुन्।

तिनीहरुले आफूमाथि लागइएको अभियोग र सार्वजनिकरूपमा भएको बेइजतीप्रति कुनै पनि प्रतिक्रिया जनाएको छैन। यस काण्ड सामाजिक सञ्जालमा भाइरल भएको छ। चँँदीरङको स्पेस सुट लगाएका ती बाबुछोरालाई अधिकारीहरूले डोहो¥याउँदै गरेका भिडियो र तस्वीरहरू अहिले भाइरल भएरहेको छ।

क्राइम ब्रान्चले नयाँदिल्ली निवासी नाम नखुलाइएका व्यापारीलाई आफूहरूसँग नासाको फाइदाजनक परियोजना रहेको भन्दै १ करोड ४३ लाख भारु ठगेका हुन्। प्रहरीले पत्रकारहरूलाई तिनीहरुले चट्याङ परेको सो दुर्लभ तामाको प्लेटमा आफूतिर धान तान्न सक्ने अनुपम शक्ति रहेको कहानी पनि सुनाएको जानकारी दिएका छन्।

तिनीहरूले ‘राइस पुलर’ नाम दिइएको सो वस्तु नासालाई करिब ५ अर्ब ५० करोड अमेरिकी डलरमा बिक्री गर्न सकिने बताएका थिए। प्रहरीले भारतीय सञ्चार माध्यमलाई यस्तो राइस पुलर भन्ने वस्तु काल्पनिक रहेको र त्यसमा पीडितलाई झुकाउन तरल चुम्बक र तारहरु प्रयोग गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्