उत्तर कोरियाद्वारा तीन अमेरिकी बन्दी रिहा



वासिङटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाद्वारा हिरासतमा राखेका ३ अमेरिकी नागरिक रिहा भएको बताएका छन्। उत्तर कोरियाबाट फर्कने क्रममा बाटोमा रहेका विदेशमन्त्री माइक पोम्पियो आफूसँग तीन जना भद्रभलादमीलाई लिएर आइरहेको जानकारी गराउन पाउँदा मलाई खुसी लागिरहेको छ।‘ट्रम्पले बुधबार ट्विट गरेका थिए। उनीहरूको स्वास्थ्य राम्रै देखिएको उनले उल्लेख गरेका छन्।

उत्तर कोरियाली नेता किम जोङ उनसँग ट्रम्पको प्रस्तावित शिखर सम्मेलनअगाडि किमसँग भेट्न पोम्पियो मंगलबार उडानबाट प्योङयाङ पुगेका थिए। ट्रम्पले उनीहरूबीचको उक्त बैठकलाई ‘राम्रो वार्ता’ भएको बताउँदै किमसँगको शिखर वार्ताका लागि तिथि र स्थान तय भएको जनाएका छन्। ट्रम्पले विदेशमन्त्री पोम्पियो र उनका पाहुना बिहीबार बिहानै एन्ड्रयु एयर फोर्स बेसमा अवतरण हुने पनि जानकारी दिए। उनीहरूलाई स्वागत गर्न आफू त्यहाँ हुने र उनी अत्यन्त उत्साहित भइरहेको ट्रम्पले बताए। ती पाहुना सन् २०१५ मा जासुसको आरोपमा पक्राउ परेका कोरियाली अमेरिकी व्यापारी र मिसिनरी किम डोङ चुल, शिक्षकद्वय किम सांग दुक र किम हाक सोंग हुन्। अब उत्तर कोरियाको जेलमा कुनै अमेरिकी नरहेको विश्वास गरिएको छ।

एक हप्तादेखि नै ती बन्दीहरूको रिहाइका विषयमा अनुमान भइरहेको थियो। मे २ मा ट्रम्पले एक ट्विटमा ती बन्दीहरूको रिहाइका लागि ओबामा प्रशासन असफल भएको गलत आरोप लगाएका थिए। ती ३ मा २ जना ओबामाको कार्यकालपछि पक्राउ परेका हुन्। ‘सबैलाई थाहा छ, विगतको प्रशासनले ३ जना बन्दीलाई उत्तर कोरियाको श्रम शिविरबाट मुक्त गर्न धरै आग्रह गरेको थियो तर केही फाइदा भएन’ –ट्रम्पले टिवटमा लेखेका थिए।

ट्रम्पका वकिल, पूर्व न्युयोर्क सिटीका मेयर रुडी जियुलियानीले गत हप्ता फोक्स न्युजसँगको साक्षात्कारमा ती बन्दीहरू वार्ता कै दिन रिहा हुने गलत कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्