अफगानिस्तानको हवाई आक्रमणमा ३० बालबालिका मारिए



काबुल, (एजेन्सी)
गत महिना अफगानिस्तानको उत्तरपूर्वी कुन्दुज प्रान्तमा भएको हवाई आक्रमणमा ३० जना बालबालिका मारिएको अन्य ५१ जना घाइते भएको संयुक्त राष्ट्र संघले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ।

अफगान सरकारले गत २ अप्रिलमा वरिष्ठ तालिवान लडाकू नेताहरूको बैठकलाई लक्षित गरी गरेको सो हवाई आक्रमणको क्रममा तिनीहरू मारिएको जनाएको थियो। संयुक्त राष्ट्र संघले गरेको स्थलगत अनुसन्धानले सो घटनामा अन्य छ जना वयस्क पनि मारिएको जनाएको छ।

एउटा धार्मिक विद्यालयको खुला चउरमा कार्यक्रम भइरहेका बेला त्यसको नजिक सो हवाई हमला भएको थियो। साथै यस प्रतिवेदनमा मारिनेको संख्या अझै बढी हुने बलियो सम्भावना रहेको पनि उल्लेख गरिएको छ। दस्त ए आर्ची जिल्लामा सरकारी फौजले हेलिकोप्टरबाट रकेट र गोली बर्साएका थिए। शुरूमा अफगान सरकारले यस आक्रमणमा कमलाको तयारीमा रहेका १८ जना वरिष्ठ तालिवान लडाकू मारिएको तिनीहरूले नै सर्वसाधारणको आमहत्या गरेको बताएको थियो।

यसैगरी तालिवान सूत्रले त्यसबेला घटनास्थलमा कुनै पनि लडाकू नरहेको र सो सरकारी हमलामा करिब २ सय जना सर्वसाधारण मारिएको वा घाइते भएको दाबी गरेको छ। यस घटनामाथि अफगान सरकार र प्रान्तीय गभर्नरले पनि अनुसन्धान गरेका थिए। तर तिनीहरूको प्रतिवेदन अझैसम्म सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्